२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा लिला गिरी दोस्रोपटक मुख्यमन्त्री बन्दै

आइतवार , श्रावण ६, २०८१

भैरहवा, ६ साउन । 
 नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । उनी दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका हुन् । गिरी एमालेको पोलिटव्यूरो सदस्य समेत हुन् । उनले रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि २०७९ पुस २७ गते मुख्यमन्त्री बनेका गिरी तत्कालीन गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) सहितका अन्य दल नयाँ गठबन्धनमा गएपछि साढे ३ महिनामै सरकारबाट बाहिरिएका थिए । अहिले उही माओवादी नेतृत्वलाई विस्थापित गर्दै नेपाली कांग्रेसको साथमा गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेरिन लागेको हो । 

एमालेको जिम्मामा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले जानकारी दिए । एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति जुटेको उनले जनाएका छन् ।

कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले एमाले संसदीय दलका नेता गिरीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी तयारी भइरहेको बताए ।