
आइतवार , श्रावण ६, २०८१
बुटवल, ६ साउन ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा पत्रकारिता क्षेत्रको व्यवसायिकता सुरक्षा र जवाफदेहीता सुदृढीकरण विषयक कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघले इन्टरनेशनल अलर्टसँगको सहकार्यमा सुरु गरेको मिडिया सुरक्षा परियोजना अन्तर्गत गठन गरिएको फ्रि मिडिया नेटवर्कसँग आवद्ध सरोकारवालाहरुसँग पत्रकारिताको व्यवसायिक सुरक्षा र जवाफदेहीताका विषयमा कार्यशालामा छलफल गरिएको हो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तुलानात्मक रुपमा रुपन्देहीको पत्रकारिता व्यवसायिक रहेको तर, प्रश्नको घेराबाट बाहिर नरहेको बताए । उनले राज्यका तहबाट प्रदान हुने सेवा प्रवाह र सुरक्षाका सन्दर्भमा पनि प्रश्न रहेको बताउँदै रुपन्देहीको राजनीतिक परिपक्ता र पत्रकारिताको व्यवसायिकता राम्रो रहेको बताए । अर्यालले पत्रकारिता क्षेत्र अपडेट र अपग्रेड हुनुपर्नेमा जोड दिए । उनले प्रशासनका तर्फबाट पत्रकारितालाई सुरक्षा दिनका लागि कुनै कसुर बाँकी नराख्ने र सूचना प्रवाहका सन्दर्भमा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले प्रस्तुती राख्दै रुपन्देहीमा पत्रकार आचारसंहिता पालना भइरहेको बताउँदै आफूहरुमाथि उठेका प्रश्नमा सच्चिन तयार रहेको बताए । उनले आफूहरुले विगतदेखि नै फ्रि मिडिया नेटवर्क गठन गरेर पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारितालाई व्यवसायिक बनाउने सन्दर्भमा छलफल गर्ने गरेको समेत बताए ।
उक्त अवसरमा पत्रकारहरुको सुरक्षा, नागरिक समाज र पत्रकारहरुबीच सूचनाको हक प्रयोग, समाचार संकलन र सम्प्रेषणका क्रममा निष्पक्ष र व्यवसायिक अभ्यास गरेको नगरेको, सञ्चार गृहमा लैंगिक तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति कार्यान्वयन गरे/नगरेको, पत्रकारिताको सुदृढीकरणका लागि स्थानीय सरकारको भूमिका, स्थानीय सरकारको सञ्चार नीति लगायतका सूचकका आधारमा रुपन्देहीको अवस्थाबारे मापन गरिएको थियो । उक्त सूचकबारे नागरिक समाज र अन्य सरोकारवालाहरुका तर्फबाट मानवअधिकारकर्मी गोविन्द खनाल र पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले प्रस्तुती राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरीराज अधिकारीले प्राप्त भएका सूचांकहरुको परिणामलाई आगामी नेतृत्वले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताए ।
कार्यशालाबाट रुपन्देहीमा पत्रकार सुरक्षा, व्यवसायिकता लगायतका विषयमा छुटाछुट्टै मूल्यांकनमा ठिकै अवस्था आएकाले आगमी दिनमा सुधार गर्नुपर्ने निष्कर्ष आएको पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए । कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयसहित, नागरिक समाज, मानवअधिकारकर्मी, स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij