२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सोमवार , श्रावण ७, २०८१

भैरहवा, ७ साउन ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीको सहजीकरणमा आइतबार करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक विधेयक २०८१ ले गरेका छुट सुविधा तथा सहुलियतलगायतका विषयमा व्यवसायीलाई अझ स्पष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले बताए । उनले भने, ‘नयाँ आर्थिक वर्ष सुरु भएको छ । मदिरा व्यवसायीलाई करसम्बन्धी जिज्ञासा मेटाउन यो कार्यक्रम गरिएको हो । ’ संघले प्रत्येक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिदै आएको उनको भनाइ छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले कर छुट सुविधा व्यवसायीको राहतका लागि भएकोले यो सुविधा निर्धारित समयमै भित्र लिन आग्रह गरे । उनले आफ्नो वास्तविक कारोबार घोषणा गर्न व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘व्यवसायी र आन्तरिक राजस्व कार्यालयबीच नङ र मासुको जस्तो सम्बन्ध छ ।’

त्यस्तै मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले संघले आफ्नो वार्षिक कार्ययोजना अनुसार करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको बताए । उनले मदिरा व्यवसायी धेरै समस्यामा रहेको बताए । उनले भने, ‘घरेलु मदिराको बिगबिगी, सामानको मूल्यवृद्धि, बैंक ब्याजदरलगायतका कारण कतिपय व्यवसायी आफ्नो व्यवसाय छोड्ने परिस्थितिमा हुनुहुन्छ ।’ उनले करको दर नभइ दायरा बढाउनुपर्ने बताए ।

संघका सल्लाहकार खिम बहादुर खत्रीले करको दायरामा नआएकालाई ल्याउनुपर्नेमा जोड दिए । उनले गलत कार्य गर्नेलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । खत्रीले व्यवसायीहरु एकजुट भएर अघि बढे धेरै समस्याहरुको समाधान हुन नसक्ने बताए । 

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा कर अधिकृत खेम प्रसाद उपाध्याय, व्यवसायीहरु लगायतले भनाइ राखेका थिए । 

कार्यक्रममा ५५ जनाको उपस्थिति रहेको मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले जानकारी दिए ।

IMG_7558.JPG
IMG_7604.JPG