२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

सोमवार , श्रावण ७, २०८१

काठमाडौं, ७ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिर्दै प्रधानमन्त्री ओलीले सुशासन सेवा प्रवाह र विकास निर्माणको बाधकको रूपमा रहेको भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकताको विषय भएको भन्दै भ्रष्टाचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायहरुको अवलम्बन गर्ने बताए ।

सुनकाण्ड, सहकारी ठगी, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर रहेको उनले बताए । 

उनले ठूलासाना जोसुकै भए पनि दोषीलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारे । त्यस्तै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताए ।

सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने उनको भनाइ छ । 

उनले राष्ट्रिय आवश्यकता र हितलाई मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै संविधान संशोधनका लागि पहल गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सहकारी क्षेत्र तथा बचतकर्ताहरूले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलहरुबाट प्राप्त हुन आएका सुझाव एवं सहकारी पीडितहरुसँग पटकपटक गरिएका सहमतिहरू कार्यान्वयन हुने क्रममा रहेको बताए ।