२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा ‘बुद्धिष्ट वल्र्ड टुरिजम मार्केट’ हुने

सोमवार , श्रावण ७, २०८१

भैरहवा, ७ साउन । 
बुद्ध जन्मस्थल लुम्बिनीका लागि सद्भावना दूत तथा पर्यटन व्यवसायी विक्रम पाँडे काजीको अगुवाइमा लुम्बिनीमा बुद्धिष्ट वल्र्ड टुरिजम मार्केटको आयोजना हुने भएको छ । लुम्बिनीसँगै यस आसपास रहेको अन्य पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिने भएको हो । 

सोमबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायी पाँडेले लुम्बिनीसँगै यससँग जोडिएर रहेका अन्य बुद्धिष्ट सर्किट तथा लुकेका पर्यटकीय स्थलहरुको पहिचान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । ‘लुम्बिनी मात्र होइन यो क्षेत्रमा रहेको प्राय सबै स्थान गौतमबुद्धसँग जोडिएर रहेको छ ।’ पाँडेले भने, ‘गौतमबुद्ध अभिनिष्क्रमण पछि भैरहवा, रोहिणी नदी पार गर्दै अनोमा नदी हँुदै गएकोले यी सबै क्षेत्रहरुमा उच्च पर्यटकीय सम्भावना रहेको छ । यी सबैको प्रवद्र्धन गर्ने मेरो उद्देश्य रहेको छ ।’

कपिलवस्तुमा महाअभिनिष्क्रमण दिवस मनाउने गरिएको बताउँदै उनले यसलाई जोडेर भैरहवा हुदै त्रिवेणीसम्म पुर्याउन सकिने उनले बताए । यसको लागि आफ्नो प्रयासमा स्थानीय पर्यटन व्यवसायीहरुको सहयोग आवश्यक रहेको उनको भनाइ छ । 

उनको प्रस्तावमा भैरहवाका व्यवसायीहरुले सकारात्मक भएको बताएका छन् । पर्यटन व्यवसायी किशोर जोशीले लुम्बिनी नजिक भएर पनि उपेक्षित रहेको भैरहवालाई बुद्धसँग जोड्न सकिने बताए । उनले रोहिणी नदीलाई प्रवद्र्धन गरी यसैको माध्यमबाट यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउन सकिने बताए । 

त्यस्तै सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन र यस क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न अपरिहार्य रहेको बताउँदै यसमा सबै लाग्न आग्रह गरे ।

नयाँनयाँ पर्यटकीय स्थल तथा पर्यटकीय गतिविधिहरु गर्न रुचाउने विक्रम पाँडे काजीले लुम्बिनी र तिलौराकोटकोबीचमा मायादेवी माईत हिंडेको बाटोलाई मायादेवी सुत्केरी मार्ग नामाकरण गररी यसको प्रवद्र्धनमा पनि लागेका छन् । करिब ३९ किलोमिटर लामो यस मार्गमा यसै वर्षदेखि ‘मायादेवी सुत्केरी मार्ग म्याराथन’ को आयोजना गरिने उनले बताए ।