२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

भैरहवामा यात्रुबाहक बसको आगमन र प्रस्थान विन्दु सिद्धार्थ बसपार्क हुनुपर्छ : सिद्धार्थ सञ्जाल

मंगलवार , श्रावण ८, २०८१

भैरहवा, ८ साउन ।
सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवास्थित सिद्धार्थ बसपार्कबाट नै सम्पूर्ण यात्रुबाहक बसहरु आगमन र प्रस्थान हुनुपर्ने माग गरेको छ । सञ्जालले भैरहवामा यात्रुबाहक बसको आगमन र प्रस्थान विन्दु सिद्धार्थ बसपार्क नै हुनुपर्ने माग गरेको हो ।

यात्रुबाहक बसहरु सिद्धार्थ बसपार्कलाई केन्द्रबिन्दु गराइ प्रस्थान र आमगन नगरी लुम्बिनी जाने बसहरु लुम्बिनी गेट अगाडीबाट र परासी जाने बसहरु यति होटलको अगाडीबाट र अन्य स्थानमा जाने बसहरु बेलहिया सडकबाट जाँदा ट्राफिक जाम भइ आवातजावतमा समस्या हुने गरेको सञ्जालको भनाइ छ ।

मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटेर सञ्जालले समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ । सिद्धार्थ बसपार्कबाट नै सम्पूर्ण यात्रुबाहक बसहरु प्रस्थान र आगमन गरी अन्य ठाउँमा बस बिसौनी (बस स्टप) मात्र प्रयोग गरी सञ्चालनको लागि पहल गरिदिन आग्रह गरिएको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

त्यस्तै बुटवल–बेलहिया सडक अन्तर्गत सिद्धार्थनगरको आँखा अस्पताल चोकमा अत्याधिक दुर्घटना भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि उक्त चोकमा डिभाइडर लगाउन पहल गरिदिन सञ्जालले प्रजिअ अर्यालसमक्ष आग्रह गरेको छ ।

त्यसै गरी सडक पूनः निर्माण कार्यका लागि भैरहवा विद्युत कार्यालयदेखि सिद्धार्थ बसपार्कसम्म सडकको बीच भागमा भत्काइएका सडकहरु यथाशिघ्र निर्माणका लागि पहल गरिदिन सञ्जालको आग्रह छ ।

विगत धेरै वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको बुटवल–बेलहिया सडक शिघ्र सम्पन्न गर्न पहल गरिदिन आग्रह गरिएको सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको पार्किङ शूल्क पहिलाको तुलनामा अत्याधिक वृद्धि भइ मोटरसाइकल, स्कुटर र रिक्साको रु. १० बाट बढाएर रु. ३० प्रतिघण्टा तथा कार, जीप, लिमोजिन, ट्याम्पोको रु. २० बाट बढाएर रु. ६० प्रतिघण्टा र अन्य सवारीसाधनको पनि पार्किङ शूल्क अत्याधिक वृद्धि गरिएकाले यसमा निजी क्षेत्र र सर्वसाधारणको विरोध भएको हुँदा शुल्क घटाउनुपर्ने सञ्जालको माग छ ।

हाल नगरभित्र विभिन्न ठाउँमा सडकको दुवै साईडमा सवारी पार्किङले सवारी दुर्घटना बढ्ने सम्भावना भएकाले सिंगल लेनमा मात्र पार्किङ व्यवस्थापनको लागि सहजीकरण गर्न आग्रह गरिएको सञ्जालले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सडक निर्माणका लागि आफूले सम्बन्धित पक्षसँग कुराकानी गरिरहेको बताए । उनले समस्या समाधानका लागि पहल गर्ने बताए ।

सो अवसरमा सञ्जालका अध्यक्ष ज्ञवाली, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष सतिश कुमार कौशल (दीपक), व्यवसायी मंगल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच विगतदेखि निजी क्षेत्रले उठाउँदै आएको मागमध्ये पर्यटकको सहजताका लागि बेलहिया नाकामा पर्यटक लक्षित एकीकृत चेकजाँच सेवा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अगुवाइमा सुचारु भएको भन्दै सञ्जालले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई धन्यवाद ज्ञापन गरेको छ ।