
मंगलवार , श्रावण ८, २०८१
काठमाडौं, ८ साउन ।
मनसुनजन्य विपद्का कारण यस वर्ष १४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री रमेश लेखकले यस वर्ष मनुसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिए ।
प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजार भन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।
गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाई राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिए । उनले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको उल्लेख गरे ।
त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए । उनले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।
उनले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij