२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन आवश्यक : डा. शेखर कोइराला

मंगलवार , श्रावण ८, २०८१

काठमाडौं, ८ साउन ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायीत्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको संविधान संशोधनः प्रेस स्वतन्त्रता विषयक कार्यक्रममा कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायीत्व हुन नसकेको बताए । उनले राजनीतिक स्थायीत्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।

उनले संविधानलाई १० वर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेका कारण अब कांग्रेस र एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राखे ।

समावेशी समानुपातिकलाई आघात नपुग्ने गरि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा दुइमत नरहेको उनको भनाइ छ । कोइरालाले अहिले दुई ठूला दल मिल्दा निरंकुशता जन्मने डर पनि रहेकाले सञ्चार माध्यमले अग्रणी भूमिका खेल्नुपर्ने र गलत काम हुनबाट रोक्न खवरदारी गर्नुपर्ने बताए ।

उनले आफुहरु सत्तामा रहे पनि सरकारको गलत कामलाई गलत र सही कामलाई सही भन्ने स्पष्ट पारे ।