२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

मंगलवार , श्रावण ८, २०८१

भैरहवा, ८ साउन ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । साउन ६ गते आइतबारदेखि सुरु भएको शिविर साउन ११ गते शुक्रबारसम्म सञ्चालन हुने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।

शिविरमा आउने बिरामीहरूका लागि वरिष्ठ मुटुरोग विशेषज्ञद्वारा निःशुल्क मुटुरोग जाँच तथा परामर्श सेवा उपलब्ध गराइरहेको उनले बताए । उनले भने, ‘शिविरमा इको, ईसीजी, टीएमटीलगायत मुटु सम्बन्धी सम्पूर्ण रगत जाँचमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।’

मुटुसम्बन्धी समस्या देखिएका बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिएको पौडेलले जानकारी दिए । शिविरमा अनुभव प्राप्त विशेषज्ञद्वारा जाँच भइरहेकाले फाइदा लिन उनले आग्रह गरे । ‘विभिन्न मुटु अस्पतालले दिने सम्पूर्ण सेवा यस अस्पतालद्वारा सञ्चालन हुँदै आएको छ । यसले गर्दा पनि शिविरबाट धेरै लाभान्वित हुने अपेक्षा गरिएको छ, ’पौडेलले भने ।

वरिष्ठ मुटुरोग विशेषज्ञको टीमद्वारा यस अस्पतालमा सम्पूर्ण मुटुरोग सेवा सञ्चालनमा आएलगत्तै बिरामीहरु मुटुरोग अस्पतालमा सेवा लिनका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

पौडेलका अनुसार अस्पतालले जर्मन, अमेरिका लगायत विदेशमा निर्मित मुटुसम्बन्धी सम्पूर्ण उपकरणसहित मुटुरोग उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले मुटुको हार्टएट्याकलगायत विभिन्न मुटुको समस्या भएको अवस्थामा आकस्मिक मुटुरोग सेवा चौबिसै घण्टा सञ्चालन गरेको उनले जानकारी दिए । अस्पतालले ६–७ करोड मूल्य पर्ने क्याथ ल्याब मेसिन जडान गरिरहेको पौडेलले बताए । यो सेवा रूपन्देहीबासीका लागि अति नै महत्वपूर्ण हुने वरिष्ठ मुटुरोग विशेषज्ञ सुधीर कुमार शाहले बताए ।