
बिहिवार , श्रावण १०, २०८१
भैरहवा, १० साउन ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँ दिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटी) को ४६ औं सेसन अन्तर्गत बिहीबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।
वल्र्ड हेरिटेज कमिटीका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधिले बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदा उपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरु उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षण विपरीतका गतिविधि र पूर्वाधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिदै आएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरुले कुटनीतिक पहल गरेका थिए ।
लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मा यूनेस्को तथा फ्रान्सका लागि नेपाली राजदुत सुधिर भट्टराई लगायतले कुटनीतिक पहल गरेका थिए ।
संस्कृति मन्त्रालय, पुरातत्व विभाग, भारतका लागि नेपाली राजदुत, पेरिसस्थित राजदूत र लुम्बिनी विकास कोषले लुम्बिनीका बारेमा सकारात्मक निर्णय भएको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।
यूनेस्कोले सम्पदास्थलमा मापदण्ड ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण, मायादेवी मन्दिर जीर्ण हुँदा पानी चुहिने तथा परिसरमा अनुमति बिना संरचना निर्माण गरेको लगायतका विषयमा प्रश्न उठाएको थियो । विगतदेखि नै सम्पदा संरक्षण विपरीतको कार्य हुँदै आएको भन्दै यूनेस्कोले सचेत गराउँदै आएको थियो । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी सन् १९९७ मा यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो ।
भारत सरकारको संस्कृति मन्त्रालयको आयोजनामा २१ जुलाईदेखि ३१ सम्म चल्ने विश्व सम्पदा कमिटीको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, मन्त्रालयका सहसचिव सुरेश सुरश श्रेष्ठ, कोषका सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहभागी छन् ।
बैठकमा यूनेस्कोले उठाउँदै आएको सम्पदा संरक्षण मापदण्ड कार्यान्वयन, सम्पदा प्रभाव मूल्यांकन लगायतका सुझाव नेपालले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij