
बिहिवार , श्रावण १०, २०८१
रुपन्देही, १० साउन ।
यात्रु र सवारीसाधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्री बस सेवा आजदेखि पुनः सञ्चालन भएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.बुटवलले जनाएको छ ।
अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढी पहिरोले सडक क्षतिग्रस्त भएकोले यात्रु र सवारीसाधनको सुरक्षाका लागि स्थगित गरिएको रात्री बस सेवा साउन १० गते बिहीबारदेखि सञ्चालन भएको हो । मौसम र सडक दुवैमा सुधार आएकोले सतर्कताका साथ रात्री सेवा सञ्चालन गर्ने निर्णय भएको प्रा.लि.ले जनाएको छ ।
.प्रा.लि अनुसार यहाँबाट काठमाडौंका लागि छुट्ने दैनिक ६४ वटा र अन्य स्थानका लागि छुट्ने ५४ वटा रात्री बस १० गते बिहीबारदेखि पुनः सञ्चालन भएका छन् । हाल अतिआवश्यक प्रयोजनका लागि दैनिक ४ वटा मात्र रात्री बस सञ्चालन गरिएकोमा अब दैनिक १ सयभन्दा बढी रात्री बसहरु नियमित सञ्चालन हुने प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बताएका छन् । भुसालले भने, ‘मौसम र सडक दुवैमा सुधार आएको छ । रात्री सेवा उच्च सतर्कताका साथ सुरक्षा निकायसँग समन्वय गरेर सुचारु गर्छौं । ’
भुसालका अनुसार रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तुबाट काठमाडौं, पोखरा, वीरगंज, विराटनगर लगायतका स्थानमा सञ्चालन हुने रात्री बसहरु नियमित सञ्चालन हुनेछन् । वर्षायामका कारण सडकमा हुने सम्भावित घटना र सवारी दुर्घटनालाई मध्यनजर गर्दै प्राविधिक रुपले पनि जोखिम न्यूनीकरण गर्दै सुरक्षित तवरले यात्रा गराउने प्रा.लि.ले तयारी गरेको भुसालले जानकारी दिए ।
प्रमुख राजमार्ग लगायतका सडकहरुमा रहेका पहिरो र ढुंगाहरु हटाइएको र क्षतिग्रस्त सडकहरु मर्मतसम्भार गरिएको कारणले पनि बाढी पहिरो र सम्भावित जोखिम पनि न्यूनीकरण भएकोले यात्रुहरुलाई सुरक्षित यात्रा गराउने उद्देश्य रहेको प्रा.लि.का सञ्चालक एवं दुर्घटना न्यूनीकरण अभियानका संयोजक नारायण घिमिरेले बताए । मौसम र सडक दुवैमा सुधार आएकोले रात्री बस सेवा नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरिएको र सोही अनुसार सुरक्षा निकाय व्यवसायीहरुलाई परिपत्र समेत गरिएको बस व्यवसायी हिमाल गैरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij