
शुक्रवार , श्रावण ११, २०८१
भैरहवा, ११ साउन । रुपन्देहीको भैरहवास्थित माखनभोग स्वीट्समा रहेको मिठाई (रसबरी) मा किरा भेटिएको छ । जिल्ला बजार अनुगमन समितिले गरेको मिठाई पसल अनुगमनका क्रममा मिठाईमा किरा भेटिएपछि नष्ट गरेको छ ।
भैरहवामा बिहीबार मिठाई पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मिठाई, पनिर र कोककोला नष्ट गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार अनुगमन समितिले सिद्धार्थनगर–७ स्थित माखनभोग स्वीट्समा रहेको मिठाई (रसबरी) मा किरा भेटिएपछि त्यसलाई नष्ट गरिएको छ । अखाद्य मिठाई विक्री गर्दा जनस्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले त्यसलाई ध्यानमा राखेर अखाद्य मिठाई नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
अर्यालका अनुसार यहाँ उत्पादित १० किलो मिठाईमा स–सना मरेका किराहरु भेटिएका थिए । यस्तै, उक्त स्वीट्समा म्याद गुज्रिएको ४ बोतल कोकाकोला पनि भेट्टिएको थियो । कोकाकोलालाई पनि नष्ट गरिएको छ । माखनभोग स्वीट्सले सरसफाईमा पनि आवश्यक ध्यान नदिएको अनुगमन समितिले जनाएको छ ।
उक्त स्वीट्सका सञ्चालकलाई आगामी दिनमा खाद्यवस्तु उत्पादनमा विशेष ध्यान दिन निर्देशन दिइएको छ भने सुधार नगरे कानूनअनुसार कारबाही गर्ने गरी सचेत गराइएको अनुगमन समितिले जनाएको छ ।
यस्तै, सिद्धार्थनगर–५ मा रहेको पवन मिष्ठान भण्डारमा लेबल नभएको साढे २ किलो पनिर भेटिएपछि नष्ट गरिएको छ । यहाँ सरसफाईमा विशेष ध्यान दिन अनुगमन समितिले निर्देशन दिएको छ ।
भैरहवाको आवारोडस्थित साँवरिया प्रिमियम स्वीट्स भण्डारले भने खाद्य मापदण्ड पालना गरेको पाइएको जिल्ला अनुगमन समिति संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
अर्यालले बजार अनुगमनलाई निरन्तरता दिइरहेको जनाउँदै कानूनले बर्जित गतिविधि गरेको पाइए जो कोहीलाई कारबाही गर्ने बताए ।
तत्काललाई प्रतिनिधिमूलक रुपमा तीनवटा मिष्ठानमा अनुगमन गरे पनि आगामी दिनमा अन्य स्थानमा पनि अनुगमन गरिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij