
शनिवार , श्रावण १२, २०८१
भैरहवा, १२ साउन ।
भास्करानन्द मायाशर्मा अक्षयकोष सिद्धार्थनगर–८, रुपन्देहीले सिद्धार्थनगरमा रहेका सामूदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाले शनिबार सिद्धार्थनगर–१३ शान्तिनगरस्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच ९ वटा सामूदायिक विद्यालयका २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।
संस्थाले अक्षयकोषमार्फत प्रत्येक वर्ष सामूदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको भास्करानन्द मायाशर्मा अक्षयकोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्माले बताए । आर्थिक अभावका कारण आफ्नो पढाईलाई निरन्तरता दिन असमर्थ विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा यो अक्षयकोषको स्थापना गरिएको शर्माले जानकारी दिए ।
यस वर्ष कक्षा १ देखि १० सम्म अध्ययन गरिरहेका ८३ जना विद्यार्थीहरुको आवेदन प्राप्त भएकोमा विद्यार्थीहरुले प्राप्त गरेका ग्रेड तथा विद्यालयका प्राचार्यबाट प्राप्त विद्यार्थीहरुको आर्थिक अवस्था अनुसार छात्रवृत्ति प्राप्त गर्न योग्य २५ जना विद्यार्थीहरुलाई वितरण गरिएको संस्थाका सचिव देवीदत्त ज्ञवालीले बताए । अक्षयकोषमा रहेको रु. ३० लाखबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष छात्रवृत्ति वितरण गरिदै आएको उनले बताए ।
कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई रु. ५ हजार, ६ देखि ८ सम्म अध्ययनरतलाई रु. ७ हजार र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वापत रु. १० हजार वितरण गरिदै आएको अक्षयकोषको सञ्चालक समिति सदस्य हरि बहादुर खड्काले बताए ।
उनका अनुसार संस्थाले २०७२ सालमा २४, २०७३ मा २४, २०७४ मा १८, २०७५ मा १६, २०७६ मा १८, २०७८ मा २४, २०७९ मा २० र २०८० मा २५ गरी हालसम्म १६९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिसकेको छ । कोरोनाका कारण २०७७ सालमा छात्रवृत्ति वितरण गर्न नसकिएको उनले जानकारी दिए ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै अक्षयकोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्माले बैंक ब्याजदर घटेको कारण छात्रवृत्ति पाउने विद्यार्थीको संख्या पनि घटेको बताए । उनले आफ्नो जीवनपछि पनि आफ्नो छोरी पार्वती काफ्ले यादवले अक्षयकोषलाई निरन्तर अघि बढाउने बताए ।
संस्थाका उपाध्यक्ष रविन्द्र सिंह रानाले विद्यार्थीहरु अनुशासित, इमान्दार र असल बन्नुपर्ने बताए । उनले भने, ‘देशलाई असल नागरिकको खाँचो छ । ’
श्री भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले विद्यार्थीहरुले पाएको छात्रवृत्तिवापतको रकम घर खर्चमा नभइ विद्यार्थीहरुकै पठनपाठनमा खर्च गर्न अभिभावकहरुलाई आग्रह गरे ।
श्री सुसंस्कृत माविका प्रधानाध्यापक रविन्द्र यादवले अक्षयकोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्माले शिक्षा क्षेत्रमा लामो समय योगदान गर्नुभएको बताए । उनले अक्षयकोषबाट धेरै विद्यार्थीहरुलाई लाभान्वित भएको बताए ।
अक्षयकोषका संस्थापक रामसुमेर यादवको स्वागत तथा संस्थाका सञ्चालक समिति सदस्य हरि बहादुर खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
क–कसले पाए छात्रवृत्ति ?
छात्रवृत्ति पाउनेमा श्री भुजौली माध्यमिक विद्यालयको पुष्पा कोहार, सुनिता कोहार, श्री सिद्धार्थ आधारभूत विद्यालयका शरण श्रीपाली र सनी चौहान, श्री मेउडिहवा आधारभूत विद्यालयका लक्ष्मी कोहार र आदित्य हरिजन, श्री बेलहिया माध्यमिक विद्यालयका महिमा धवल, अर्पण आचार्य र पुजा वि.क. रहेका छन् ।
त्यस्तै श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका अर्ति थापा मगर, आयुशा अर्याल, राधा हरिजन र निर्मला गुरुङ्ग, श्री सुसंस्कृत माध्यमिक विद्यालयका करन थापा, रामजित कोइरी र रोशन साहनी रहेका छन् ।
त्यसै गरी सूर्यदेव माध्यमिक विद्यालयका विपिन लोनिया, प्रतिमा कोईरी र रुपा कोइरी रहेको भाष्करानन्द माया शर्मा अक्षयकोषको सञ्चालक समिति सदस्य हरि बहादुर खड्काले बताए ।
त्यस्तै भानु माध्यमिक विद्यालयको अनुराधा विश्वकर्मा, प्रिया कुर्मी, आकृति घिमिरे, जोया खान, नवदुर्गा माध्यमिक विद्यालयको खुस्बु पासी र भूमिका खाम्चा रहेको खड्काले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij