२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजियो : प्रचण्ड

शनिवार , श्रावण १२, २०८१

काठमाडौं, १२ साउन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताए । उनले संसदको दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उनले अहिले दुईदलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको उल्लेख गरे ।


पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान संशोधनमा आफूहरुको विरोध नभएको तर संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृतिको विरोध भएको धारणा राखे । उनले जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार रहेको बताए । अध्यक्ष प्रचण्डले नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीको एकताको प्रयास निरन्तर गर्नुपर्ने धारणा राखे ।

एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको भन्दै उनले एमालेमा रहेका कम्युनिष्ट क्रान्तिकारीलाई एकताबद्ध गर्नका लागि चिन्तनमनन गर्नुपर्ने उल्लेख गरे ।