२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रक्तदान गर्ने संघ-संस्था सम्मानित, औद्योगिक घरानाबाट पञ्चकन्या सम्मानित

आइतवार , श्रावण १३, २०८१

भैरहवा, १३ साउन । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रक्तदान गर्ने संघ–संस्थाहरुलाई सम्मान गरेको छ । ५९ औं रक्त सञ्चार दिवसको अवसरमा रक्तदाता र सहयोगदाताहरुलाई सम्मान गरेको हो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवल र रक्त सञ्चार सेवा एकाई भैरहवामा रक्तदान गर्ने रुपन्देहीको पञ्चकन्या समूहसहित विभिन्न संघ–संस्थालाई सम्मान गरिएको हो । पञ्चकन्या समूहले औद्योगिक घरानाको रुपमा संस्थागत तरिकाले रक्तदान गरेको थियो । 

पञ्चकन्याले गत आर्थिक वर्षमा एक सय १० प्वाईन्ट रक्तदान गरेको थियो । जुन औद्योगिक घरनामा पहिलो हो । त्यस्तै जन्मदिन, पुण्य स्मृतिमा रक्तदान गर्ने व्यक्ति र रक्त सञ्चार सेवा केन्द्रलाई आर्थिक, भौतिक सहयोग गर्नेहरुलाई सम्मान–पत्रले सम्मान गरिएको हो । १ सय बढी यूनिट रगत संकलन गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । 

रक्त सञ्चार दिवसको अवसरमा रक्तदाता संघ–सस्था र व्यक्ति गरी ५३ जनालाई सम्मान गरिएको रक्त सञ्चार सेवा केन्द्र बुटवलकी इन्चार्ज राधा शर्मा ज्ञवालीले जानकारी दिइन् । ज्ञवालीका अनुसार २०८०/०८१ को एक वर्षको अवधिमा रुपन्देहीमा ४ सय ५६ वटा संघ–संस्थाले ६ सय ५३ पटक रक्तदान गरेका थिए ।

रक्त सञ्चार सेवा केन्द्र बुटवल र रक्त सञ्चार सेवा एकाई भैरहवामा एक वर्षमा ३१ हजार ६ सय ७९ यूनिट रगत संकलन भएको थियो । जसमा २६ हजार ९ सय ३९ जना पुरुष र ४ हजार ७ सय ४० जना महिलाले रक्तदान गरेका रक्त सञ्चार केन्द्रले जनाएको छ । 

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरले रगत निःशुल्क गर्न घोषणा गरेको बताइन । रगत संकलन र वितरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै उनले भौतिक विकाससँगै मानवीय सेवाको विकास गर्नुमा जोड दिइन् । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनीले रगतलाई सहज रुपमा निःशुल्क गराउन लागिपरेको बताउँदै सरकारले तोकेको भन्दा कम रकम लिएर रगत दिने गरिएको बताए ।