
आइतवार , श्रावण १३, २०८१
भैरहवा, १३ साउन ।
भैरहवाको एक कार्यक्रममा बालबालिकाले दीप प्रज्वलन गरेर सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १२४ औं श्रृंखलामा साउन ९ गते बुधबार सौर्य एयरलायन्सको जहाज दुर्घटना र दुई साता अघि चितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रमबाट बालबालिकाले श्रद्धाञ्जली अर्पण गर्ने संस्कृति बुझ्न सक्ने भएकोले एलएसडीटीले बालबालिकालाई मानवताबारे पनि सिकाउँदै अघि बढेको कार्यक्रमकी उदघोषक लता पोख्रेलले बताइन् ।
शनिबारको कार्यक्रम अनौपचारिक रुपमा सञ्चालन भएको थियो । कार्यक्रममाथि रीता थापाले संक्षिप्त प्रकाश पारेकी थिइन् । त्यस्तै उपस्थितिलाई व्यवस्थापन समितिका सदस्य हरिश सेठियाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी अनिशा दिदीले ध्यान गराएकी थिइन् । एलएसडीटीका कार्यक्रम नियमित ध्यानबाट सुरु हुने व्यवस्थापन समितिका सदस्य नितु थापाले बताइन् ।
तालिम भैरहवाको एसियन बुद्ध होटलमा प्रत्येक शनिवार सञ्चालन हदै आएको छ । तालिमको संस्थापक विजय पाण्डे हुन् । एलएसडीटी सदस्यहरुको स्वेच्छिक योगदानमा निःशुल्क सञ्चालन हुँदै आएको व्यवस्थापन समितिका सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए । एलएसडीटी सदस्यहरुका बालबालिकाको विकासका निम्ति प्रवल पन्तको अध्यक्षतामा बालमंच पनि गठन गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij