२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रुपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

सोमवार , फाल्गुण १७, २०७७

भैरहवा, १७ फागुन ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’ को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ लाई ७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङमा आएकोे बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १९९ रनको योगफल बनायो । उसका लागि रिजन प्रजुले ३५, मिथिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रन बनाए । बलिङमा बुटवल–११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३/३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल–११ ले ४४ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनायो । उसका लागि सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २/२ तथा विपिन खत्री र रिजन प्रजुले समान १/१ विकेट लिए । अमित अग्रहरी म्यान अफ द म्याच भए । 

मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह–प्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।