
सोमवार , श्रावण १४, २०८१
परासी, १४ साउन ।
पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने उमेश बढईको छोरा २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्य कुमार बढईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नवलपरासीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार आफ्नै घरमा सुतिरहेका सूर्य कुमारलाई धारिलो हतियारले घाँटी रेटि अज्ञात समूहले हत्या गरेको हो । हत्या गर्ने समूहको खोजी कार्य भइरहेको डिएसपी बोहराले जानकारी दिए ।
सूर्य कुमार कक्षा १२ को परीक्षा दिएर बसेका थिए । उनको पिता वैदेशिक रोजगारीमा रहेको बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालसहितको प्रहरी टोली खटिएको छ । हत्या किन र कसले गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमाटमका लागि पृथ्वीचन्द्र अस्पताल ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij