२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विश्वविद्यालयको पुनर्संरचनामा समयानुकूल परिमार्जन गर्नुपर्छ : प्रधानमन्त्री ओली

मंगलवार , श्रावण १५, २०८१

काठमाडौं, १५ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्ने बताए ।

समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठुलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे । प्रधानमन्त्री ओलीले उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले रु २८ अर्व बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयहरुलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने स्पष्ट पारे । विश्वद्यालयमा समावेशीता सहभागीताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने उनले बताए ।

बैठकले विभिन्न संकायबाट ६२ औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार ९ सय ९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ भने चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।