२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न थप एक व्यक्ति पक्राउ

बुधवार , श्रावण १६, २०८१

काठमाडौं, १६ साउन । प्रहरीले मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै २०६४ सालमा प्राध्यापक विष्टको हत्यामा संलग्न रन्जन खड्कालाई पक्राउ गरि सार्वजनिक गरेको हो । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविता थापाका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको र उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न सविता थापा र विनोद थापालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो भने विनोद थापा कैद सजाय काटेर जेलबाट छुटिसकेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले घटनामा संलग्न मध्ये हालसम्म खुलेका तथ्यहरुबाट रञ्जन घटनाका प्रमुख व्यक्ति रहेको खुलेको बताए । उनी वारदातको समय पश्चात धेरै समय भारतका बिभिन्न स्थानमा लुकीछिपी बस्ने गरेको खुलेको उनले जानकारी दिए ।

त्यस्तै प्रहरीले बैंक तथा वालेटको कर्मचारी हु भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमार्फत अनलाइन मार्फत ठगी गर्ने रौतहट घर भएका शूभम साह र सत्यम कुमार सहनीलाई पक्राउ गरिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिले अललाइनमार्फत इसेवाका कर्मचारी भएको भन्दै बैंक खाता लिङ्क गर्न लगाउने र ओटीपी मागी ठगि गरेको खुलेको प्रहरीले जनाएको छ ।