
बुधवार , श्रावण १६, २०८१
काठमाडौं, १६ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सको बदमासीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले नेपालको विद्युतीय लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीदेखि प्रिन्टिङसम्मको गर्दै आएको भारतीय भेन्डरका कारण देखिएको समस्या समाधान भइसकेको समेत जानकारी दिए । अघिल्लो बर्षको बेरुजुका कारण भेन्डरलाई केहि रकम भुक्तानी दिन बाँकी रहेको अवस्थामा त्यसैलाई आधार बनाएर मद्रास सेक्युरिटीले अनलाइन प्रणाली नै अवरुद्ध गर्ने गरेको उनको भनाइ छ ।
यातायातको अनलाइन प्रणाली र सवारीचालक अनुमतिपत्र छपाइको कामलाई दिर्घकालीनरुपमा नै समस्यामुक्त बनाउने प्रयास भइरहेको मन्त्री दाहालले बताए । उनले यातायात नीति अघि बढेको भन्दै त्यसका आधारमा आवश्यक ऐनहरु बनाउदै समस्या समाधान गर्ने जिकिर गरे ।
त्यस्तै मन्त्री दाहालले पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउनका लागि खरिद ऐन व्यवस्थीत गर्नुपर्ने अवस्था देखिएको धारणा राखे । उनले नागढुङ्गा सुरुङ मार्गलाई समयमा नै निर्माण गर्नेगरि काम अघि बढिरहेको र नागढुङ्गा–मुग्लिङ सडक खण्डमा देखिएका समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता जनाए । उनले राजमार्गहरुमा रहेका जोखिमयुक्त पूलहरुको पहिचान गरि नयाँ पूल बनाउने गरि कार्ययोजना तयार गरिएको जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले नागढुंगा सुरुङमार्ग र मुग्लिङ सडक खण्डको स्थलगत निरिक्षणका क्रममा देखिएका समस्याका बारेमा अवगत गराएका थिए । उनीहरुले पूर्वाधार निर्माणका क्रममा देखिएका समस्याहरुमा गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij