
बुधवार , श्रावण १६, २०८१
भैरहवा, १६ साउन ।
भारतीय पर्यटक आकर्षित गर्ने उद्देश्यले कपिलवस्तुको चन्द्रौटामा ग्रीन ज्याकपट क्यासिनो सञ्चालनमा आएको छ । चन्द्रौटास्थित चारतारे सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा बुधबारबाट उक्त क्यासिनो सञ्चालनमा आएको हो । कपिलवस्तुमा पहिलोपटक क्यासिनो सञ्चालन भएपछि भारतीय पर्यटक वृद्धि हुने विश्वास गरिएको छ ।
सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा आकर्षक गेमिङ सुविधासहित क्यासिनो सञ्चालनमा आएको हो । सञ्चालनमा आउनेबित्तिकै कृष्णनगर लगायत नाका भएर क्यासिनो खेल्न आउने भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने सञ्चालकले जनाए ।
१ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त रिर्सोटमा आधिकारिक रुपमा बुधबारबाट क्यासिनो सञ्चालनमा आएको हो । प्रत्यक्ष ५ सय र अप्रत्यक्ष एक हजार जनालाई रोजगारी उपलब्ध गराउने गरी १५ करोड रुपैयाँ लगानीमा क्यासिनो सञ्चालनमा ल्याइएको क्यासिनोका अध्यक्ष राजकुमार भट्टराईले जानकारी दिए ।
क्यासिनोका म्यानेजिङ डाइरेन्टर राजिव आचार्यले प्रतिदिन ५ सय भारतीय पर्यटकलाई सेवा दिने गरी क्यासिनो सञ्चालनमा आएको बताए । चन्द्रौटा र कृष्णनगरलाई पर्यटकीय हबका रुपमा विकास गर्न सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटले क्यासिनो सञ्चालनमा ल्याएको आचार्यले बताए । क्यासिनो सञ्चालनले कृष्णनगरबाट मुलुक भित्रिने पर्यटकले गेमिङका लागि लुम्बिनी भैरहवा र नेपालगंज शहर जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij