
बुधवार , श्रावण १६, २०८१
बुटवल, १६ साउन ।
रुपन्देहीको बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ। इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो ।
जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन् । २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेशनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज बन्ने प्रक्रिया सुरु हुनेछ ।
आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरु सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
जसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाइएको छ ।
जसको सदस्यमा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विनोद पराजुली सदस्य सचिव रहेका छन् ।
आम्दा इन्टरनेशनलको सहकार्यमा स्तरोन्नति भइरहेको अस्पताललाई थप व्यवस्थित गर्दै जनशक्ति उत्पादन र उपचारलाई सँगै अगाडि बढाउन मेडिकल कलेजका रुपमा अगाडि बढाउन लागिएको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले आम्दा अस्पताललाई यस क्षेत्रकै सुविधासम्पन्न अस्पताल र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेजका रुपमा स्थापित गर्ने योजनाअनुसार काम भइरहेको बताए । उनले सोहीअनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा स्तरोन्नति गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने र बाँकी प्रक्रियाहरु पूरा गर्दै जाने गरी तयारी भएको बताए । उनले कार्यदलले अध्ययन गरी सबै विषयहरु अन्तरराष्ट्रिय सभामा पेश गर्ने बताए ।
नगरप्रमुख पाण्डेयले बुटवलका लागि सुनौलो अवसर भएको बताउँदै यस कार्यलाई सम्पन्न गर्न सबै बुटवलबासीलाई सहयोगको अपिल समेत गरेका छन् ।
आम्दा इन्टरनेशनलका अध्यक्ष डाक्टर सुगेरु सुगानामीले बुटवलमा मेडिकल कलेज स्थापना गर्न पाउनु आम्दाका लागि गौरवको कुरा हुने बताए । उनले चारवटै साझेदार संस्थाहरुको सहकार्यमा आम्दाले बुटवलमा स्वास्थ्य जस्तो पवित्र क्षेत्रमा काम गर्न सकिरहेको स्मरण गर्दै सबैको साथ जरुरी रहेको बताए ।
त्यस्तै सदस्य संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले हालसम्म आम्दा अस्पतालको विकासका लागि सहयोग गर्दै आएको बताउदै आम्दा इन्टरनेशनल मेडिकल कलेज निर्माणका लागि संघको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै बुधबार नै आम्दा इन्टरनेशनलका अध्यक्ष डाक्टर सुगेरु सुगानामीले आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवा प्रवाहबारे अनुगमन गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij