
सोमवार , फाल्गुण १७, २०७७
बुटवल, १७ फागुन ।
सोमबार समापन गर्ने लक्ष्यसहित सञ्चालन भएको चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ एक दिन थप गरिएको छ । चौथो दिनको खेल सकिदा ५ ईभेन्टका विजेताको टुंगो लागेको छ । सोमबार महिला डबल्सतर्फ अभिलाषा विष्ट र ईरा राउतको जोडी विजयी भएका छन । देवीनगर लनटेनिस कम्प्लेक्समा भएको फाइनल खेलमा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीलाई ६–१, ६–० को सोझो सेटमा जित्दै उपाधि हात पारे ।
त्यसै गरी ३५ प्लस डबल्सतर्फ कमल बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीले उपाधि हात पारेका छन । भण्डारी र श्रेष्ठको जोडीले लोक बहादुर गुरुङ र राजन पौडेलको जोडीलाई ६–०, ६–१ को सेटमा खेल जिते । त्यसै गरी ४५ प्लस डबल्सतर्फ गोपी बहादुर भट्टराई र धर्मसिह लामिछानेको जोडीले चन्द्र शाही (युएण्ड मि) र राजु श्रेष्ठको जोडीलाई २–६, ६–१, १०–८ को ट्राईबेकरमा जित निकाल्दै उपाधि हात पारेका हुन । त्यसै गरी ५५ प्लस डबल्सतर्फ धु्रव घले र मनोज रानाको जोडीले राजकुमार गुरुङ र बसन्त प्रधानको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेका छन ।
पुरुष सिंगलतर्फ उपाधि लागि मंगलबार रितिक राना र सन्तोष खत्री भिड्ने भएका छन् । पहिलो सेमीफाइनलमा रितिक रानाले नेपालका एक नम्बरका रेकिङका खेलाडी प्रनव खनाललाई ९–७, ६–४ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । त्यसै गरी अर्को सेमीफाईनलमा सन्तोष खत्रीले निशान श्रेष्ठलाई ६–२, ४–६, ७–४ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन ।
महिला सिंगलतर्फ पहिलो सेमीफाइनलमा प्रेरणाले सलोनी तामाङलाई ६–१, ६–२ तथा दोस्रो सेमीफाईनलमा अभिलाषा विष्टले मायङका राणालाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।
त्यसै गरी ३५ सिगलतर्फ उपाधिका लागि पुलिसका कमल भण्डारी र बुटवलका संजयप्रकाश श्रेष्ठबीच भिडन्त हुने भएको छ । सोमबार कमल भण्डारीले रामु बिकलाई ६–०, ६–१ को सोझो सेटमा तथा संजय प्रकाश श्रेष्ठले पोखराका राजन पौडेललाई ६–४, ३–६ र १०–८ को ट्राईबेकरमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन । त्यसै गरी ४५ प्लस सिंगलतर्फ पहिलो सेमीफाइनलमा धर्म सिंह लामिछानेले उत्तम बोगटीलाई ६–३, ६–१ तथा दोस्रो सेमीफाईनलमा चन्द शाहीले गोपी भट्टराईलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
त्यसै गरी ५५ प्लस सिंगलमा हिमाल शाह र मनोज राणाकोबीचमा उपाधि भिडन्त हुने भएको छ । पहिलो सेमीफाइनलमा हिमाल शाहले धु्रव गुरुङलाई ६–३, ६–१ तथा दोस्रो सेमीफाइनलमा मनोज राणाले राजेन्द्र घिमिरेलेलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन । मंगलबार पाँच ईभेन्टका बाँकी खेल हुने प्रतियोगिताको सुपरभाईजर विकास खड्काले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij