२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीबाट हिमाल

बिहिवार , श्रावण १७, २०८१

लुम्बिनी, १७ साउन ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधबार पनि यस्तै मौका जुर्यो । 
पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमश्रृखलाको भिडियो र फोटो खिचेर आम मानिसहरुलाई लोभ्याएका छन् । लुम्बिनी पुगेका पर्यटकहरु लुम्बिनीबाट हिमाल देख्न पाएकोमा दंग थिए । 

श्रीलंकाबाट बौद्ध तीर्थयात्रीहरु लिएर बुद्ध जन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुशी व्यक्त गरे ।  उनले भगवान बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर व्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रुपमा हिमाल देख्न पाएको बताए ।

वर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरु देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरु लोभिएका हुन् । प्राय असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरी लगायतका हिमालहरु देखिने पुस्तौदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताए ।

त्यसो त नेपाल भौगौलिक रुपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन । मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्ध जन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रुपमा प्रचार हुन सकेको छैन । भगवान बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एवं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए ।

मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिमश्रृंखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथरभूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्वपूर्ण हो । लुम्बिनीसहित तराईका जिल्लाहरुबाट प्राय असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थानीय बताउँछन । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरी लगायतका हिमश्रृंखलाहरु देखिन्छ ।