
शुक्रवार , श्रावण १८, २०८१
भैरहवा, १८ साउन । रोटरी क्लब अफ भैरहवाले मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । क्लबले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्नका लागि विद्यार्थीसँग मनका कुरा गरेको हो ।
कोभिड–१९ पश्चात बालबालिकामा परेको सामाजिक र मानसिक असरका विषयमा मनोपरामर्श प्रदान गरिएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष राम प्रसाद पन्थीले जानकारी दिए ।
बालबालिकाले मनमा लुकाएर राखेका समस्यालाई समाधान गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्लबका अध्यक्ष पन्थीले जानकारी दिए ।
क्लबले भैरहवामा रहेका सामूदायिक तथा संस्थागत गरी एक दर्जन विद्यालयका विद्यार्थीहरुसँग छलफल गरेको हो । वर्तमान अवस्थामा सामाजिक संजालका कारण बालबालिकाहरु कसरी मानसिक रोगको शिकार हुने गरेका छन् भन्ने विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा मनोपरामर्शदाता कपिल शर्माले विद्यार्थीहरुलाई मन, सोच, भावना र व्यवहारका विषयमा सचेतना दिएका थिए । उनले विद्यार्थीहरुलाई आफूमा कुनै समस्या आएको जस्तो लागेमा आफ्ना समस्याहरु खुलेर कुराहरु कसैसँग राख्ने त्यो सम्भव नभए कापीमा लेखेर नजिकको मानिससँग राख्न आग्रह गरे ।
रोटरीयन कल्पना तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्ना समस्याहरु सुनाएका थिए ।
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष रोटरीयन राज कुमार गुप्ताले बालबालिकाहरुल शारीरिक र मानसिक रुपमा स्वस्थ भए मात्र उज्वल भविष्य बन्ने भएका कारण आफूमा आएका समस्या नलुकाउन र परामर्श लिन सुझाव दिए । सकारात्मक सोच र आत्म संवेदनशीलता कायम गर्न सके यस्ता समस्याबाट जोगिन सक्ने उनको भनाइ छ ।
रन्जु शर्माको संयोजनमा भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन क्लबका महासचिव श्याम थापाले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij