
शनिवार , श्रावण १९, २०८१
भैरहवा, १९ साउन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको नियमित बैठकमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ । क्लबको १३३९ औं नियमित बैठकमा प्रमुख वक्ता (गेष्ट स्पीकर) मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफ्लेले सचेतना प्रदान गरेका थिए ।
बैठकमा बोल्दै डा. काफ्लेले मानसिक स्वास्थ्यबारे कुरा गर्न पछि हट्न नहुने बताए । उनले मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रमहरु पनि रहेको बताए । डा. काफ्लेले बालबालिकामा देखिने मानसिक स्वास्थ्य समस्याप्रति गम्भिर हुनुपर्ने बताए । उनले भने, ‘बच्चामा हुने मनोसामाजिक समस्याबारे बृहत रुपमा छलफल गर्नुपर्छ ।’
उनले मानिसका कुराहरु सन्दा पनि आधा समस्या समस्या हुने बताए । उनले तनाव व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजापछि आत्महत्या गर्ने विद्यार्थीहरुको संख्या बढेको भन्दै विद्यार्थीहरुलाई परामर्श र तनाव व्यवस्थापनबारे सिकाउनुपर्ने बताए ।
बैठकमा क्लबका सदस्यहरुले राखेका जिज्ञासाहरुको डा. काफ्लेले जवाफ दिएका थिए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीको अध्यक्षता, प्रेसिडेण्ट इलेक्ट कमलराज ढकालको धन्यवाद ज्ञापन तथा सचिव दिनेश अग्रवालको सञ्चालनमा शुक्रबार रुपन्देहीको भैरहवामा बैठक सम्पन्न भएको थियो ।
क्लबका अध्यक्ष ओम जैसीका अनुसार डा. विक्रम काफ्ले देवदह मेडिकल कलेजमा सह–प्राध्यापक, लुम्बिनी प्रदेशका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का कन्सलटेन्ट सुपरभाइजर र लालीगुराँस न्यूरोसायट्रिक क्लिनिकमा कन्सलटेन्ट मनोचिकित्सकका रुपमा कार्यरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij