२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एक वर्षमा २८८ जनाको उद्वार

शनिवार , श्रावण १९, २०८१

भैरहवा, १९ साउन ।
रुपन्देहीका सीमा क्षेत्र तथा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट एक वर्षको अवधिमा २८८ जनाको उद्वार गरिएको छ । शुभ अवसर ग्राम नेपाल, परियोजना कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८०/०८१ मा २८८ जनाको उद्वार गरेको हो । उद्वार गरिएकोमा २२८ जना महिला तथा ६० जना पुरुष रहेका छन् ।

अन्तरसीमा मानव बेचबिखनविरुद्ध परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै शुभ अवसर ग्राम नेपाल, परियोजना कार्यालय भैरहवाका परियोजना संयोजक सत्यनारायण यादवले उद्वार गरिएकामध्ये १८५ जनाले सुरक्षित आवास गृह सेवा लिएको जानकारी दिए । उनका अनुसार यसमा महिला, बालिका तथा किशोरीहरु १८० तथा आश्रित बालकहरु ५ जना छन् । त्यस्तै २१९ जनालाई पारिवारिक पुर्नमिलन गराइएको यादवले जानकारी दिए । 

त्यसै गरी उद्दार गरिएकोमध्ये २३ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ भने १४ जनालाई आयआर्जनका लागि बीउपूँजी सहयोग गरिएको संस्थाले जनाएको छ । उनले भने, ‘हाम्रोमा अन्य सेवा प्रदायकहरुको रिफरल ६१ जना आउनुभएको थियो । उहाँहरुलाई सुरक्षित आवास, पारिवारिक मिलन लगायतका काम गरिएको छ ।’

संस्थाले सरकारका विभिन्न निकायसँगको सहकार्यमा भारतको कश्मिरमा बधुवा मजदूर बनाइएका ६३ जनाको दुई चरणमा गरेर उद्वार गर्न सफल भएको जनाएको छ  ।

परियोजनाको भैरहवा कार्यालयले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको कालीदह–कक्ररहवा र रोहिणी गाउँपालिकाको खनौतिया–भगवानपुर नाकामा मानव बेचविखनविरुद्ध काम गर्दै आएको छ । त्यस्तै सीमा क्षेत्रमा १३ वटा समूहमा आबद्ध १६९ जना युवायुवती (सीमा निगराकानीकर्ता) ले मानव बेचविखनविरुद्ध काम गर्दै आएको यादवले बताए । विशेष गरी २०–२५ वर्ष उमेर समूहका युवतीहरु विभिन्न प्रलोभनमा परेर दलालको फन्दामा परेको गरेको उनको भनाइ छ ।

परियोजनाका विकास देवकोटाले उद्धारसँगै सामूदायिक पुनःउत्थान र उद्धार गरिएकाहरुलाई आयआर्जनका लागि सहयोग गर्दै आएको बताए । पछिल्लो समय आधुनिक सुविधाको उपभोग गर्ने रहर र धेरै पैसा कमाउने तथा विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि युवतीहरु बेचबिखनमा उनले बताए ।