२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

२५२५ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक

शनिवार , श्रावण १९, २०८१

काठमाडौं, १९ साउन ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले यस वर्ष २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवा कार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने बताए । यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामूदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिने उनले बताए ।

विद्यार्थीहरुको आवश्यकताअनुसार झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने उनले बताए । 

विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले परिषद्ले विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कापीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिए । परिषद्ले देशका सातवटै प्रदेशमा विभिन्न शिक्षाविद्हरूलाई राखि शिक्षा क्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरिसकेको न्यौपानेले जानकारी दिए ।

परिषद्ले सेवा कार्य अन्तर्गत गत तीन वर्षदेखि निरन्तर देशका अलगअलग जिल्लाहरूमा शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ । वि.सं. २०७९ अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, गोरखा, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला गरेर देशका ११ वटा हिमाली जिल्लाहरूका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो । त्यस्तै वि.सं. २०८० अन्तर्गत  १८ जिल्लाहरूमा सामग्री वितरण गरेको थियो । जसमा गुल्मी, बारा, सिन्धुली, मकवानपुर, रुपन्देही, संखुवासभा, तेह्रथुम, कालीकोट, रौतहट, बाग्लुङ, रोल्पा, सिरहा, काठमाडौँ, काभ्रे लगायत जिल्ला रहेका छन् । 

 पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचिव मनिता देवकोटा लगायतको उपस्थिति रहेको थियो ।