२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रेडक्रस सैनामैना दुधराक्ष उप–शाखाले लगायो १०८ पिपलका विरुवा

शनिवार , श्रावण १९, २०८१

भैरहवा, १९ साउन ।
नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखा, रुपन्देहीको आयोजनामा शनिबार रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका विरुवाहरु लगाउने कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले गरेका थिए ।

त्यसअवसरमा सांसद् घिमिरेले सामाजिक क्षेत्रमा निस्वार्थ सेवामा क्रियाशील संस्थाले वातावरण र पर्यावरणको महत्वलाई समाजमा स्थापित गराउनको लागि वृक्षरोपण कार्यक्रम गरेको बताए । उनले पिपलका विरुवाहरु लगाउने कार्य गरेको भन्दै रेडक्रसको प्रशंसा गरे । उनले रेडक्रसले मानव जीवनको लागि अतिआवश्यक रक्तदान जीवनदान कार्यक्रमको सञ्चालन गर्नुका साथसाथै थप सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण एवं रेडक्रस वाटिका निर्माण जस्ता कार्य समाजको लागि नमूना कार्यक्रम भएको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले रेडक्रसको वृक्षरोपण तथा बाटिका निर्माण कार्यको प्रशंसा गरिन् । उनले लुम्बिनीमा आउने पर्यटकहरुलाई सैनामैना नगरपालिकाको मलमला क्षेत्रमा ल्याउने योजना नगरपालिकाको रहेको बताइन् । उनले यस्ता उदारणीय कार्यले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनुका साथै पिपलको धार्मिक महत्व र मानव जीवनको लागि अतिआवश्यक प्राण वायू अक्सिजन उत्पादनमा पिपलले खेल्ने भूमिकाका विषयमा प्रकाश पारेकी थिइन् । आगामी वर्षहरुमा यी र यस्तै बाटिकाहरुका प्रवद्र्धन, संरक्षण र विकासको लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्ने उनले बताइन् । 

कार्यक्रममा नेपाल रेडक्रस लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनीे, जिल्ला रेडक्रस उपसभापति हिरा चन्द, शान्ति समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल, सैनामैना वडा नम्बर ६ का वडा सदस्य आशिष पोख्रेल लगायतले सैनामैना रेडक्रसको काम उदाहरणीय रहेको बताए ।

वृक्षरोपण कार्यक्रममा विभिन्न टोल विकास संस्थाहरु, क्लबहरु, आमा समूहहरु, स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इंकोरिया सामुदायिक वन सैनामैना वडा नम्बर ६ र ८ को प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा दुधराक्ष उप–शाखाका सभापति विष्णु अर्याल, उप–सभापति चन्द्रिका भट्टराई, सचिव घनश्याम पाण्डेले रेडक्रसले सञ्चालन गर्दै आएका कार्यहरुबारे प्रकाश पारेका थिए ।