२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘भन्सारमा गैरभन्सार एजेण्टको बिगबिगी छ’

सोमवार , श्रावण २१, २०८१

भैरहवा, २१ साउन ।
भन्सार कार्यालयमा गैरभन्सार एजेण्टको बिगबिगी भएको भन्सार एजेण्ट संघ सिद्धार्थनगरका प्रतिनिधिहरुले गुनासो गरेका छन् । उनीहरुले आधिकारिक भन्सार एजेण्टहरुले काम नपाएर पार्ट टाइम काम गर्नुपर्ने अवस्था रहेको तर, गैरभन्सार एजेण्टले फूल टाइमको रुपमा काम गरिरहेको बताए । यसमा राज्यको ध्यान नगएको उनीहरुको गुनासो छ ।

सिद्धार्थ सञ्जाल, रुपन्देही र नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरबीच आइतबार भैरहवामा भएको समसामयिक विषयमा छलफल तथा संयुक्त अन्तरक्रिया कार्यक्रममा नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका प्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले केही भारतीय नागरिकले नेपाली एजेण्टको आईडीबाट काम गर्दा भोली नेपाली एजेण्टलाई नै समस्या पर्न सक्ने बताए । 

कार्यक्रममा भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले भने, ‘२०८१ साउन १ देखि अनिवार्य परिचयपत्र र भन्सार विभागले तोकेको पोशाक लगाएर भन्सारभित्र जानुपर्ने माग राख्दै ७ दिनसम्म धर्ना दियौं । तर, त्यो गर्दा भन्सार प्रशासनले चासो दिएको अवस्था छैन ।’उनले नेपालका उद्योग, कलकारखाना तथा व्यवसायिक प्रतिष्ठानमा नेपाली नागरिकलाई नै रोजगारी दिनुपर्नेमा जोड दिए । पछिल्लो समय भन्सार एजेण्टको पेशा नै संकटमा परेको उनले गुनासो गरे । उनले हाल संघमा १२० जना सदस्यहरु आबद्ध रहेको जानकारी दिए । उनले उद्योगी–व्यवसायीको हकहितका लागि संघले बहस, पैरवी गर्दै आएको बताए ।

नेपाल भन्सार एजेण्ट महासंघका वरिष्ठ उपाध्यक्ष प्राचीन थैवले नेपालका औद्योगिक–व्यवसायिक प्रतिष्ठानमा प्रदान गरिने रोजगारीमा नेपाली नागरिकलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रमा रहेका समस्या समाधानका लागि विभिन्न संघ–संस्थाहरुसँग सञ्जालले छलफल गर्दै आएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सञ्जालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गरेको बताए । उनले नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भन्सार एजेण्टका समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले व्यवसायीले भन्सार एजेण्टलाई चिन्नुपर्ने बताए ।
सञ्जालका उपाध्यक्ष डा.शान्त कुमार शर्माले यस क्षेत्रका विभिन्न समस्या समाधानका लागि सञ्जालले आवाज उठाउँदै आएको बताए ।

सञ्जालका कोषाध्यक्ष सतिश कुमार कौसल (दीपक) ले अवैध रुपमा हुने सामान आयातले व्यवसायीलाई मर्का परेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताए ।सञ्जालका सह–कोषाध्यक्ष हरिश सेठियाले भन्सार एजेण्टले आफ्ना ग्राहकलाई चिन्नुपर्ने बताए । उनले भने, ‘सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । प्रतिष्पर्धी बजार छ ।’

भन्सार एजेण्ट संघ सिद्धार्थनगरका पूर्वअध्यक्ष कृष्ण प्रसाद घिमिरे पछिल्लो समय भन्सारको राजस्व घटिरहेको बताए । उनले वास्तविक भन्सार एजेन्ट पीडित रहेको गुनासो गरे । 

संघका सल्लाहकार दिपेन्द्रमान श्रेष्ठले सीमामा व्यवसाय सञ्चालन गर्दै आएको बताए । सिद्धार्थ सञ्जालकी कार्यसमिति सदस्य शान्ता कंडेलले भन्सार एजेण्ट संघले बेरोजगार युवायुवतीलाई रोजगार दिनुपर्ने बताइन् । उनले सिद्धार्थ सञ्जालले नयाँ नयाँ कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा सञ्जालका सचिव विन्दु न्यौपाने, सल्लाहकार खिम बहादुर खत्रीलगायतले बोलेका थिए ।