
सोमवार , श्रावण २१, २०८१
काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले सरकारको पछिल्लो गतिविधि प्रतिगमनउन्मुख देखिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै बस्नेतले विधुत प्राधिकरण र संविधान संशोधनका बिषयमा वर्तमान सरकार सुशासनतर्फ नभइ प्रतिगमनउन्मुख देखिएको आरोप लगाएका हुन् । वर्तमान सरकारले सस्तो लोकप्रियताकाका लागि काम गर्न खोजेको उनको भनाइ छ ।
उनले यसअघि लेखा समितिले गरेको निर्णय र अदालतको आदेशबिपरित हाल लेखा समितिमा भइरहेका बहस असान्दर्भीक रहेको जिकिर गरे । सार्वजनिक संस्थानहरुमाथि भएको सरकारको हस्तक्षेपले संस्थान थप धराशयी हुने उनले बताए । विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तप्रति आपत्ती जनाउदै बस्नेतले आफ्नो फरक मत राख्दा कारवाही गर्नुले लोकतन्त्रमाथिको उपहास भएको धारणा राखे । त्यस्तै बस्नेतले स्थायीत्व र विकासका नाममा संविधान संशोधन गरेर निर्वाचन प्रणाली र संघीयतामाथि कैची लगाउने कोशीसमा कांग्रेस–एमाले रहेको आंशका गरे ।
उनले संशोधनका नाममा हुने प्रतिगमन कुनै अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे । संघीय लोकतान्त्रीक गणतन्त्रको आत्मालाई मास्ने गरि संशोधनका नाममा देशलाई घात गर्न नपाइने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij