
मंगलवार , श्रावण २२, २०८१
भैरहवा, २२ साउन ।
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज सेवा’ (शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) मा ५० प्रतिशत छुट गरेको छ । यसअघि अस्पतालले रु. १ हजार रुपैयाँ शुल्क लिदै आएकोमा अब भने यो सेवाका लागि रु. ५ सय लाग्ने भएको छ । डा. शकुन्तला गुप्ताले दोस्रोपटक अस्पताल प्रमुख एवं मेडिकल सुपरीटेण्डेण्ट (मेसु) को जिम्मेवारी सम्हालेपछि यो छुट सुविधा सुरु भएको हो ।
नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझाव अनुसार यो छुट सुविधा प्रदान गरिएको अस्पतालको प्रमुख डा. गुप्ताले बताइन् । ‘हामीले सकेसम्म निःशुल्क सेवा प्रदान गर्ने कोशिष गरेका छौं, तर विद्युतलगायतका खर्चले अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी हाललाई ५० प्रतिशत छुट दिएका छौं, ’उनले भनिन् ।
अस्पताल विकास समितिले निर्णयपछि यो सुविधा २०८१ असार ९ गतेदेखि लागू भएको छ ।
त्यस्तै अस्पतालमा स्वास्थ्य बीमा सेवा र ज्येष्ठ नागरिकको लागि फार्मेसी सेवाका निम्ति छुट्टै युनिट स्थापना गरिएको अस्पतालका प्रशासन प्रमुख खिम पाण्डेले जानकारी दिए ।
पछिल्लो समय भीम अस्पतालमा बिरामीको चाप बढ्दै गइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij