
मंगलवार , श्रावण २२, २०८१
बुटवल, २२ साउन ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रुपन्देहीको बुटवललाई आर्थिक राजधानी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल लाइफलाइन भएको बताएका छन् । मंगलबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री सारूले प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको १२ सय शैयाको भवन निर्माण सम्पन्न गरी पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा आएपछि बुटवल चलायमान हुने बताए । ‘प्रदेश राजधानी बुटवलबाट दाङ स्तान्तरण भएपछि प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानी बनाउने भनेको छ त्यसलाई पुरा गर्न प्रादेशिक अस्पताल लाइफलाइन बन्नेछ, ’मन्त्री सारुले भने ।
अस्पतालको नयाँ भवन निर्माणको काम समयमै सम्पन्न गर्नुका साथै यहाँको सेवामा समेत थप गुणस्तरीयता ल्याउनुपर्नेमा उनले जोड दिए । प्रदेशको मात्रै नभएर देशकै गौरवको अस्पताल बनाउने गरी प्रदेश सरकार अघि बढेकोले नयाँ भवन निर्माणका लागि बजेट अभाव नहुने उनले बताए ।
अस्पताल र शिक्षा क्षेत्र संवेदनशील भएकाले अस्पतालको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर काम गर्न आग्रह गर्दै उनले जनतालाई दिने सेवामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए । सेवाग्राहीले सबै स्वास्थ्य सुविधा प्राप्त गरेर पनि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स, कर्मचारी वा कुनै एक जनाले गर्ने गलत व्यवहार वा बोलीका कारण उनीहरुको आत्मसम्मानमा ठेस पुग्न सक्ने भएकोले त्यसलाई ध्यान दिएर काम गर्न आग्रह गरे ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा.बासुदेव उपाध्यायले पछिल्लो समय सरकारी अस्पतालको सेवाप्रति नागरिकको विश्वास गुम्दै गइरहेको अवस्थामा बिरामीको मन जित्ने गरी सेवा प्रदान गर्नुपर्ने बताए । कर्मचारीबीचको आन्तरिक द्वन्द्वले सेवाग्राहीले दुःख पाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए । अस्पतालको विकासका लागि आवश्यक सहयोग वा कुनै नीति नियम सुधार गर्नुपर्ने भएमा मन्त्रालयमा आउन उनले आग्रह गरे ।
त्यस्तै अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा.इन्द्र ढकाललेले सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको सहयोगको अपेक्षा गरे । जनशक्ति, उपकरण तथा स्रोतसाधनको तुलनामा ठूलो जनसंख्यालाई सेवा प्रदान गर्नुपर्ने भएकाले जनताबाट गुनासाहरु सुनिरहनुपर्ने बाध्यता रहेको डा. ढकालले गुनासो गरे । ४ सय वेडको स्वीकृति पाए पनि अहिले ६२० बेड सञ्चालन गरी सेवा प्रदान गर्दै आइरहेको उनले बताए । अनलाइनबाट ओपीडी टिकट सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नुपर्ने समस्या हटेर गएको उल्लेख गरे । अब छिट्टै डिजिटल भुक्तानी सेवा समेत शुभारम्भ गर्ने तयारी रहेको उनले जानकारी गराए ।
अस्पतालमा शल्यक्रिया उपचारका लागि महिनौ पालो कुर्नुपर्ने अवस्थालाई कम गर्न भदौ १५ सम्ममा प्रसुती सेवातर्फको शल्यक्रिया कक्ष छुट्टै बनाएर शल्यक्रिया सेवालाई प्राथमीकता दिने उनले बताए । त्यस्तै अस्पतालले प्रदान गर्दै आएका विभिन्न सेवाहरुबारे जानकारी गराउँदै रात्रिकालिन डायलाइसिस सेवा, नवजात शिशुको बहिरो जाँच र मेडिकल वार्डको क्षमता विस्तार गर्ने तयारी गरिएको उनले बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा अस्पताल प्रमुख डा. विनोद गिरीले अस्पताललाई व्यवस्थित गरी बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्न आवश्यक काम भइरहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले राजनीतिक नियुक्तिमा सरकार परिवर्तनसँगै कार्यकाल नसकिँदै हटाउने प्रचलन रहेकाले पूरा कार्यकाल काम गर्न दिने गरी नियुक्ति गर्न आग्रह गरे । अस्पतालमा केही उपकरणको कमी हुँदा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने भन्दै नयाँ भवनमा सबै उपकरणको व्यवस्था गरी बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए । अस्पताल सञ्चालन कार्यविधि सच्याउन आवश्यक रहेको उनको भनाइ थियो ।
अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको कार्यक्रममा अस्पतालका विभिन्न विभाग प्रमुख, चिकित्सक, स्टाफ नर्स, कर्मचारीलागायतको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij