
बुधवार , श्रावण २३, २०८१
भैरहवा, २३ साउन ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । साउन ११ र १२ गते बाँकेको नेपालगंजमा भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित रुपन्देहीका महेन्द्र श्रेष्ठसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको हो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले बुधबार भैरहवामा बधाई तथा सम्मान कार्यक्रम गरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठ, महासचिव गणेश प्रसाद बेल्बासे, सह–सचिव लिलाधर भट्टराई, कार्यसमिति सदस्य राम प्रसाद गौतम र मोहन पाण्डेलाई सम्मान गरेको हो । निर्वाचित पाँचैजना रुपन्देहीका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले सम्मान कार्यक्रमले निर्वाचित प्रतिनिधिलाई हौसला प्रदान गरेको र आफ्नो जिम्मेवारी बहन गर्न थप प्रेरणा दिएको बताए । उनले होटल व्यवसायीका माग र समस्या सम्बोधनका लागि बारम्बार राज्यलाई घचघचाइरहेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा ठूलो आशा भरोसा दिलाउन सक्दैनौ । तर, सके जति गर्छौं । ’ अध्यक्ष श्रेष्ठले होटल व्यवसायी महासंघप्रति व्यवसायीको पूर्ण भरोसा रहेको कुरा प्रदेश अधिवेशनको गतिविधिबाट प्रष्ट झल्किएको बताए।
त्यस्तै होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले वर्तमान सरकारलाई महासंघले आवश्यक सुझाव दिने बताए । उनले कोभिड–१९ पछि व्यवसायी धरासायी भएको बताए । उपमहासचिव महोत्राले पर्यटन क्षेत्रको विकास लागि रात्रीकालीन बजार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले रुपन्देहीका होटल व्यवसायीले होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष, महासचिव, सह–सचिव र कार्यसमिति सदस्यको जिम्मेवारी पाउनुभएको भन्दै खुसी व्यक्त गरे । उनले नवनिर्वाचित टीमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
संगठनका संस्थापक अध्यक्ष तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘व्यवसायीले मन लागेको आफ्नो व्यवसाय खोल्न र बन्द गर्न पाउनुपर्छ ।’
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका पूर्वअध्यक्ष गणेश प्रसाद बेल्बासेले कोभिडपछि पर्यटन क्षेत्र धरासायी भएको बताए । उनले व्यवसायिक हकहितमा काम गर्दै आएको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका सल्लाहकार तथा मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले व्यवसायलाई अगाडि बढाउन चुनौती रहेको बताए । उनले गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको बताए । उनले पर्यटकको बसाई अवधि बढाउने गरी प्याकेज बनाउनुपर्नेमा जोड दिए ।
संगठनका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु) को स्वागत तथा महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको संगठनकी सचिव कल्पना न्यौपानेले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij