
बिहिवार , श्रावण २४, २०८१
काठमाडौं, २४ साउन । नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीवार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।
उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबीन समितिले दिने पनि बताए । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट भिएफआरले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दावी छ । महानिर्देशक अधिकारीले भिएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे ।
उनले भने, ‘टावरबाट सम्पर्कविच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी गर्यौं । जबसम्म हामी क्र्यास साईट आईडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर हामीले त्यो शंकाष्पद ठाउँ पत्ता लगाउने वित्तिकै हेलिकप्टर खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो । र नेपाल सरकारले यो दुर्घटना छानबीन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्न । आज बिहान हामीले माननीय मन्त्रीज्यु, सचिवज्यु, हामी गएर साईट पनि हेर्यौं ।
यसको रुट कज चाहीँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानविन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र उ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहिं पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुटअनुसार नगएर यसरी बाद भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानूनले वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij