
बिहिवार , श्रावण २४, २०८१
भैरहवा, २४ साउन ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । बिहीवार गाउँपालिकाको सभा हलमा १५ औं गाउँसभाको आयोजना गरी विशेष गाउँसभा सम्पन्न भएको हो ।
१४ गाउँसभामा भूमिकर सम्बन्धी भएको त्रुटीलाई सच्याउन गाउँ सभा सदस्यहरूको माग बमोजिम विशेष गाउँसभा गरिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष बाल कृष्ण त्रिपाठीले बताए।
प्राविधिक त्रुटीले भूमिकर जग्गाको मूल्यांकनको आधार भइ भूमिकर अधिक भएपछि राजस्व परामर्श समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले पेश गरेको प्रस्तावअनुसार गाउँसभामा सहभागी सदस्यहरूले भूमि करप्रति कठ्ठा रु. ७ कायम गर्न निर्णय गरेका गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिए । उनले भने, ‘गाउँपालिकाको जनताकै लागि काम गर्ने हो, गाउँपालिकाबासीबाट चर्काे कर उठाउन हाम्रो कुनै चाहना होइन, अहिले प्राविधिक त्रुटीले समस्या भएको हो । जानकारीपछि तत्काल सच्याउन सहमत भएका हौं । यसलाई सहज रुपले व्यवस्थापन गरी आम नागरिकलाई असर नहुने गरी काम गर्नेछौँ ।’
त्यसै गरी उक्त गाउँसभामा पेश गरिएको गाउँपालिका अनुदान शिक्षक कर्मचारी व्यवस्थापन कार्यविधि २०८१ र नाग पञ्चमी, रामनवमी, मोर्हरम लगायत विभिन्न स्थानीय पर्वमा विदा गर्ने समेत गाउँसभाले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष संजय कुमार सैनीले बजारमा असमानता मूल्यलाई पनि नियन्त्रण गर्न गाउँपालिकाले कार्यविधि निर्माण गरी बजार अनुगमन गर्नुपर्ने बताए । एउटै वस्तुको सामान पसलपिच्छे फरकफरक मूल्यमा विक्रीवितरण हुँदा उपभोक्ता मर्कामा परेको वडाध्यक्ष सैनीले बताए । प्राविधिक त्रुटीले भूमिकर सोचेभन्दा बढी राजस्व कार्यान्वयन भइ आएकोले त्यसलाई सच्याउन भएको सहमतिप्रति उनले धन्यवाद व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य तथा गाउँ सभा सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त विशेष सभाको वास संयोजक अजय सिंह क्षेत्रीले सञ्चालन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij