२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस लुम्बिनीको प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

बिहिवार , श्रावण २४, २०८१

भैरहवा, २४ साउन । 
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । साउन ९ गते चेतनारायण आचार्य नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । 

साउन १८ गते उनलाई पुनः मन्त्री बनाउने प्रचार गरियो । ९ गते मन्त्री बनेकाहरुलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउने गरी पार्टीले प्रचार गरे पनि अन्तिम समयमा रोकिएको थियो ।

अहिले कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा ४ जना मन्त्री बनेका छन् । संस्थापन समूहबाट ३ जना र इतर समूहबाट १ जना मात्रै परेका छन् । त्यही कारणले पनि तिमिल्सिनालाई रोकिएको हुन सक्ने नेताहरुको आंकलन छ । अहिले कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा मन्त्री भएका छन् । एउटा मन्त्रालय अझै कांग्रेसले पाउनेछ ।

राजीनामाबारे नेता तिमिल्सिनाले पुष्टि गरे । उनले भने, ‘हो मैले राजीनामा दिएर काठमाडौं आएको छु, गाडी पनि प्रदेश सभा सचिवालयमा छाडेर आएको हुँ, स्वीकृत भयो वा भएन मलाई जानकारी छैन’ । ‘मैले समय दिन पनि सकिन, अरु साथीहरुलाई पनि अब पालो दिनुपर्ने भयो, त्यसैले छाडेँ ।’

पार्टीभित्र संस्थापन पक्षका मानिने तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गरेका थिए ।