
शुक्रवार , श्रावण २५, २०८१
भैरहवा, २५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ जना मन्त्रीले काठमाडौं पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम तय भएपछि मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्री काठमाडौं पुगेका हुन् ।
शुक्रबार प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग छलफल राखेको सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज) ले बताए । ‘प्रधानमन्त्रीज्यूले छलफल गर्ने भनेपछि हामी सबै मन्त्री अहिले काठमाडौंमा छौं, संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरु राख्ने कार्यक्रम तय भएको बुझेका छौं’, मन्त्री थापाले भने ।
मुख्यमन्त्री आचार्य भने साउन २२ गते नै काठमाण्डौं पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले बाँकी मन्त्रीहरुलाई पनि बोलाएर छलफल गर्ने भनेपछि अन्य मन्त्रीहरु पनि काठमाडौं पुगेका छन् । वन तथा वातावारण मन्त्री बादशाह कुर्मीले आफू काठमाडौं पुगिसकेको बताए ।
बुधबार र बिहीबार वन मन्त्रालयको समीक्षा कार्यक्रम लमहीमा थियो । त्यो कार्यक्रमको बसाई छोट्याएर कुर्मी काठमाण्डौं पुगेका हुन् । लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना मन्त्री छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij