
शुक्रवार , श्रावण २५, २०८१
भैरहवा, २५ साउन ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२ जनकपथ, रुपन्देहीले राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ मा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा (एसएलसी) मा व्यवस्थापन संकायतर्फ नगर प्रथमसहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले बिहीबार भैरहवामा एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
काशी नोबल एकेडेमीबाट सहभागी विद्यार्थीमध्ये ३.८१ जीपीए प्राप्त गरी अर्पिता मल्लिक नगर प्रथम हुन सफल भएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए । त्यस्तै अंशिका भण्डारीले ३.७५ र आरशी भट्टराईले ३.७१ जीपीए प्राप्त गरेको घिमिरेले जानकारी दिए । काशीले यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले दावी गरे ।
प्राचार्य घिमिरेले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा काशी स्थापित भएको बताए । उनले विद्यालयलाई विश्वास गर्ने सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले विद्यार्थी जीवनमा अनुशासन महत्वपूर्ण भएको बताए । उनले कम अंक ल्याएका विद्यार्थीहरु निराश हुनु नपर्ने बताए । उनले भने, ‘नजानेको कुरा सिक्नुपर्छ । अरुलाई सोध्नुपर्छ । जानेकाले नजानेकालाई सिकाउनुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ ।’
नगर उपप्रमुख उमा अधिकारीले शैक्षिक गुणस्तर सुधार्न अभिभावकले पनि आफ्नो सन्तानलाई नगरभित्रकै विद्यालयमा पढाउन आग्रह गरिन् । उनले सिद्धार्थनगरको विकासका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम जैसीले काशीका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय सञ्चालक समितिलगायत भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।
विद्यालयका अभिभावक तथा अंशिका भण्डारीका बुवा नारायण प्रसाद भण्डारीले काशीका विद्यार्थीहरुले ल्याएके नतिजाले सिद्धार्थनगरकै नाम उचो भएको बताए । उनले भैरहवा शिक्षा क्षेत्रमा धेरै अगाडि रहेको काशी नोबल एकेडेमीको नतिजाले पुष्टी गरेको बताए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष दर्पण श्रेष्ठ, प्याब्सन लुम्बिनी प्रदेशका सह-कोषाध्यक्ष महेश भुर्तेल, श्री भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीलगायतले बोल्दै सबै मिलेर सिद्धार्थनगरको शैक्षिक विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत तथा प्लस टु कोर्डिनेटर (संयोजक) हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयबाट २०८१ सालमा कक्षा १२ मा ७९ विद्यार्थी सहभागी भएको सह–प्राचार्य श्री रायमाझीले बताए । विद्यालयबाट कक्षा १२ मा सहभागी विद्यार्थीहरुमध्ये ८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको विद्यालयले जनाएको छ । जसमध्ये ३.२ जीपीए भन्दा माथि ल्याउने २२ जना विद्यार्थीहरु रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij