
शुक्रवार , श्रावण २५, २०८१
बुटवल, २५ साउन ।
आकस्मिक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिसँग उपचार सहजता सम्झौता गरेको छ ।
भर्खरै मात्र आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको बुटवल हस्पिटल प्रा.लि.ले ट्रक व्यवसायी समितिसँगै सम्झौता गरेसँगै समितिमा आबद्ध यातायात व्यवसायीहरुले दुर्घटना वा कुनै घटनामा हुने बिरामीको उपचार गराउने भएका छन् ।
त्यसै गरी उपचार गर्न जाने बिरामीहरुका लागि लाग्ने शुल्कमा हस्पिटलले विभिन्न उपचारमा छुट सुविधा उपलब्धता गराउने भएको छ । सम्झौतापछि ट्रक समितिको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्नेछ । संस्थागत सिफारिसमा आउने समितिमा आबद्ध व्यवसायीहरु, कर्मचारी तथा उनका परिवारका सदस्यहरुका लागि अस्पतालले विशेष छुटसहित उपचार गर्ने गरी लिखित सम्झौता गरेको हो ।
सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा.कृष्ण खनाल र जनरल म्यानेजर देवेश कर्णले हस्ताक्षर गरेका छन्। त्यस्तै ट्रक व्यवसायी समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, सचिव बसन्त खड्का र मुख्य सहायक हिक्मत आचार्यले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का उपाध्यक्ष खरेलले बुटवल हस्पिटल सरल सहज सुविधासम्पन्न अस्पताल बनेको बताउँदै अबका दिनमा यहाँका बिरामीहरु उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने अवस्थामा कमी ल्याउने उद्देश्य रहेको बताए । उनले भन, ‘अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरीय सेवा दिने विषयमा लाग्नुपर्दछ । ’ उनले देशभरी नै सञ्जाल रहेको समितिसँगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै ट्रक समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहाँको सेवासुविधाले बिरामीहरुलाई काठमाडौं पठाउन नपर्ने बताए । उनले भने, ‘बुटवलमा पहिलोपटक अस्पताल बनेको छ, अब यहाँका बिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं वा भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलबासीको हो । यसलाई सबैले सहयोग गरेर बचाउनुपर्छ । बुटवल हस्पिटलसँग ट्रक समितिको उपचार सम्झौतासँगै सो समितिमा आबद्ध व्यवसायीहरुका लागि पनि सहज हुने समितिका सचिव बसन्त खड्काले बताए ।
सम्झौता भएसँगै अब पश्चिमाञ्चल यातायात व्यवसायी समितिका ढुवानीका साधनहरुसँग सम्बन्धीत दुर्घटना हुँदाका बिरामीहरुका साथै, कर्मचारी, मजदूर, व्यवसायी र उनीहरुको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुटसहित हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij