२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अनेरास्ववियु सिद्धार्थनगरले करिब ८ सय विद्यार्थीहरुलाई सम्मान गर्दै

शनिवार , श्रावण २६, २०८१

भैरहवा, २६ साउन । 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले करिब ८ सय जना विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । नगर कमिटीले सिद्धार्थनगर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुबाट कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण करिब ८ सय विद्यार्थीहरुलाई सम्मान गर्ने भएको हो ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु सिद्धार्थनगरले यही साउन ३२ गते शुक्रबार विद्यार्थीहरुलाई सम्मान गरिने जनाएको छ ।

अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.एल.पाण्डेले विगतका वर्षहरुझै यस वर्ष पनि सम्मान कार्यक्रम गर्न लागिएको बताए । उनले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुको मनोबल बढाउन कार्यक्रम गरिने जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार सम्मान कार्यक्रम यही साउन ३२ गते शुक्रबार बिहान ८ बजेदेखि भैरहवास्थित होटल पौवामा हुनेछ । 

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने सिद्धार्थनगरका विद्यालयहरुलाई पनि सम्मान गरिने उनले जानकारी दिए । अनेरास्ववियुले स्थापनाकालदेखि नै सामाजिक, राजनीतिक एवं शैक्षिक परिवर्तनका हरेक आन्दोलनको नेतृत्व गर्दै आएको पाण्डेले बताए ।

अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरीले यसपटक उत्कृष्ट विद्यार्थी मात्र नभइ कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको मनोबल र आत्मविश्वास बढाउने उद्देश्यले सम्मान कार्यक्रम गर्न लागिएको बताए । उनले विगतमा ३ दशमलव २ जीपीएदेखि उच्च अंक ल्याएर १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गर्ने गरिदा सामान्य उत्तीर्ण गरेका विद्यार्थीमा नैराश्यता आउने गरेकाले यसपटक उत्कृष्ट अंक ल्याउनेसहित उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई सम्मान गर्न लागिएको बताए ।

केही विद्यालयले आफ्ना विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अन्यत्र लैजाने डरले सम्मानका लागि १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीको विवरण माग गर्दा उपलब्ध नगराएको ठकुरीले गुनासो गरे ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले अनेरास्ववियु सिद्धार्थनगरले आयोजना गर्न लागेको यो कार्यक्रमले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन् । उनले कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि भन्दै विदेश जाने र विदेशमै पलायन हुने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिइन् । 

अनेरास्ववियु सिद्धार्थनगर कमिटीका सचिव संजोग बस्यालको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा अनेरास्ववियु रुपन्देहीको कोषाध्यक्ष तथा सिद्धार्थनगर इञ्चार्ज सुनिल खनाल लगायतले भनाइ राखेका थिए । अनेरास्ववियु नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन हो ।