
शनिवार , श्रावण २६, २०८१
भैरहवा, २६ साउन ।
जगर्श ग्रुप भैरहवा, रुपन्देहीको अध्यक्षमा प्रियबन्धु न्यौपाने सर्वसम्मत चयन भएका छन् । संस्थाको अधिवेशनले न्यौपानेको अध्यक्षतामा २०८१/२०८२ का लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शनिबार पदस्थापन समारोह गरी संस्थाले नयाँ कार्यसमितिको पदस्थापन गरेको छ । अध्यक्ष न्यौपाने रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२४/०२५ का अध्यक्ष समेत हुन् ।
जगर्शको उपाध्यक्षमा थिरेन्द्र श्रेष्ठ, सचिवमा अनिल के.सी. र कोषाध्यक्षमा महेश भट्ट रहेका छन् । त्यस्तै संस्थाको सदस्यहरुमा रमेश घिमिरे, दिनेश पोखरेल, विष्णु शर्मा, राजु न्यौपाने र रोशन न्यौपाने चयन भएको संस्थाका संरक्षक तथा निर्वाचन आयुक्त हरिशचन्द्र श्रेष्ठले बताए । पदस्थापन समारोहमा अध्यक्ष न्यौपानेले शिवहरि शर्मा, कृष्ण शर्मा र कृष्ण प्रसाद पाण्डेलाई बोर्ड सदस्यमा मनोनित गरेका छन् ।
पदस्थापन समारोहमा बोल्दै प्रमुख अतिथि युवा उद्योगी सुरज उप्रेतीले जगर्श ग्रुप छुट्टै पहिचानका साथ अघि बढेको बताए । उनले भने, ‘जगर्श ग्रुपको टीम सशक्त छ । यो टीमले समाजलाई आवश्यक कार्य गर्न सकोस् भन्दै शुभकामना दिन चाहन्छु ।’
जगर्श ग्रुपका नवनिर्वाचित अध्यक्ष प्रियबन्धु न्यौपानेले संस्थालाई अझ व्यवस्थित रुपमा लैजाने आफ्नो सुरुदेखि नै इच्छा रहेको बताए । उनले भने, ‘म अध्यक्ष भएर ठूलो मान्छे भनेर अध्यक्ष भएको होइन् । मैले आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएको छु । एक्लै केही गर्न सक्दैन । सबैको साथ र सहयोग आवश्यक छ ।’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणाले जगर्श ग्रुपलाई आवश्यक सहयोग र सुझाव रहने बताए । उनले संस्थाले राम्रो कार्यलाई निरन्तरता दिदै जाने विश्वास व्यक्त गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले संघ र व्यक्तिगत तर्फबाट जगर्शसँग सधैं सहकार्य गर्ने र आवश्यक सहयोग गरिरहने बताए ।
जगर्शका पूर्वअध्यक्ष प्रकाश घिमिरेले पछिल्लो समय युवा पुस्ताहरु हिंड्न नखोज्ने, बरु मोबाइल चलाएर बस्ने गरेको भन्दै यसले स्वास्थ्यलाई ठीक नगर्ने जनाए ।
कार्यक्रममा उद्योगी सीताराम उप्रेती र संस्थाका सदस्य एवं सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष कमल प्रसाद मरासिनीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष अनिल उपाध्याय, पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij