
आइतवार , श्रावण २७, २०८१
भैरहवा, २७ साउन ।
शहीद जितेन्द्र–मणी स्मृति प्रतिष्ठान लुम्बिनीले शनिबार भैरहवामा वृक्षरोपण कार्यक्रम गरेको छ । प्रतिष्ठानले सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहिया (स्वर्गद्वारी घाट) परिसरमा वृक्षरोपण गरेको अध्यक्ष तीर बहादुर रोका मगर (डार्बिन)ले बताए ।
उनका अनुसार प्रतिष्ठान तथा स्वर्गद्वारी घाटका पदाधिकारीहरुको उपस्थितिमा ५० वटा विरुवा रोपिएको हो । ‘लगाइएका विरुवाहरुको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले थोरै विरुवाहरु रोपेका छौं । रोपिएका विरुवाहरुको रेखदेख गर्नेछौं, ’उनले भने ।
पछिल्लो समय जलवायु परिवर्तनको असरले समस्या भएकाले वातावरण संरक्षणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले विरुवा रोपेर संरक्षणमा ध्यान दिनुपर्ने बताए ।
वार्षिक कार्ययोजना अनुसार प्रतिष्ठानले प्रत्येक वर्ष वृक्षरोपण, निःशुल्क स्वास्थ्य शिविर, विपन्न बालबालिकालाई छात्रवृत्ति, दीर्घरोगीलाई सहयोग गर्दै आएको मगरले जानकारी दिए । उनले भने, ‘सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले संस्थाको स्थापना गरिएको हो । छोटो समयमा सामाजिक क्षेत्रमा धेरै योगदान पुर्याएका महसुस गरेका छौं । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij