२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

प्रथम मगर साहित्य महोत्सव सफल पार्न रुपन्देहीका सञ्चारगृहसँग सहकार्यमा जोड

आइतवार , श्रावण २७, २०८१

  • 658
    Shares
  • 658
    Shares
  • बुटवल, २७ साउन । 
    नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ गते हुने प्रथम मगर साहित्य महोत्सवको तयारीबारे बुटवलमा शनिबार अन्तरक्रिया सम्पन्न भएको छ । ‘आफ्नो कथा आफै लेखौं’ भन्ने नारासहित सञ्चालन हुने महोत्सवको प्रचारप्रसारलाई व्यवस्थित गराउने विषयमा मगर सञ्चारकर्मीहरुबीच अन्तरक्रिया गरिएको हो । 

    महोत्सव तयारी समितिका प्रवक्ता शंकर गाहाले विषयवस्तुबारे प्रकाश पार्दै सबै मिडिया हाउस तथा सञ्चारकर्मीहरुसँग सहयोग लिइ सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । छलफलकै क्रममा महोत्सवको ऐतिहासिकता, महोत्सवले दिने सन्देश र मगर लेखक तथा साहित्यकारहरुमा हुने उर्जा र प्रभावबारे समितिका प्रवक्ता गाहाले बताए ।

    त्यस्तै नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा प्रथम मगर साहित्य महोत्सकी संयोजक निर्मला थापाले महोत्सवका लागि हालसम्म भएका तयारीबारे जानकारी गराइन्। महोत्सवले मगर भाषा, साहित्य, कला र संस्कृतिमा पार्ने दीर्घकालीन प्रभावबारे पत्रकारहरुबीच प्रकाश पारिन् । कुनै पनि जाती, क्षेत्र वा समुदायको इतिहास वा बलियो हतियार नै उनीहरुको भाषा, साहित्य र कला–संस्कृति भएको बताउँदै प्रचारप्रसार समितिका संयोजक यम रानाले महोत्सवलाई सफल पार्न एकबद्ध हुनुपर्नेमा जोड दिए । संयोजक रानाले मगरहरूको विषयमा सत्य तथ्य संकलन गरी समन्वयकारी सञ्जाल निर्माण गर्न तथा कला, साहित्य र बौद्धिक तथा मानसिक अभ्यास हुने क्षेत्रमा मगर समुदायको प्रभावकारी उपस्थिति गराउन महोत्सव माध्यम बन्ने उल्लेख गरे । 

    महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहाले प्रचारप्रसारलाई व्यापक बनाउन हरेक क्षेत्रका पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । महोत्सव प्रचारप्रसार उपसमितिमा रुपन्देहीका सबै मगर पत्रकारहरुलाई सदस्यको रुपमा मनोनित गरिएको छ । 

    कार्यक्रममा फोनिज रुपन्देही अध्यक्ष सनु थापा, पत्रकारहरु लोकनेश ढेंगा मगर, प्रविण गाहा मगर, डि.बी. सुस्लिङ्ग, सुन्दर तरामु, मिन राना, गोविन्द घर्ती मगर, आकृति थापा मगर लगायतले बोल्दै महोत्सवबारे अन्य समुदायलाई समेत जानकारी गराउँदै उनीहरुसँग पनि समन्वय गर्न आवश्यक रहेको सुझाव प्रस्तुत गरे । प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन रुपन्देहीका सबै सञ्चार गृहसँग आवश्यक समन्वय र सहकार्यमा जोड दिएका थिए ।