
सोमवार , श्रावण २८, २०८१
परासी, २८ साउन ।
नेपाली हिन्दु नारीहरुको मूख्य पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सोही क्रममा तीजका गीतको भीडमा छुट्टै पहिचान छोड्ने गरी ‘छोरीलाई तीज’ नामक मौलिक तीज गीत सार्वजनिक भएको छ ।
तीजका गीतमा भित्रिएको विकृतिका कारण चिन्ता बढिरहेको बेला गायक भरत क्षेत्री र महेन्द्र रेग्मीले मौलिकताले भरिएको तीज गीत छोरीलाई तीज बजारमा ल्याएका छन् । मौलिकता भरिएको छोरीलाई तीज नामक गीत सार्वजनिक गरिएको हो ।
भरत क्षेत्री यूट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको यस गीतमा देवी घर्ती र महेन्द्र रेग्मीको स्वर सुन्न पाइन्छ भने शब्द संगीत महेन्द्र रेग्मीको रहेको छ । भरत क्षेत्री र बिमला न्यौपानेको मूख्य अभिनय रहेको यो गीतको म्युजिक भिडियोको सम्पादन निर्देशक विष्णु भट्टराईले गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका पूर्वअध्यक्ष समेत रहेका क्षेत्रीले यसअघि पनि करिब आठवटा मौलिक तीज गीत बजारमा ल्याएका थिए । गायन र अभियनमा दख्खल राख्ने क्षेत्रीको रचना र अभिनयमा हालसम्म तीन दर्जन बढी दोहोरी तथा तीजका गीत सार्वजनिक भइसकेका छन् । नेपाली लोक दोहारी तथा तीजका गीतमा मौलिकताको संरक्षण र प्रवद्र्धनमा सहयोग हुने गरी आफूले गीत संगीतको रचना गर्दै आएको गायक क्षेत्री बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij