२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स ईन्टरनेशनल ३२५ पी को प्रथम क्याबिनेट बैठक सम्पन्न

सोमवार , श्रावण २८, २०८१


भैरहवा, २८ साउन ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको प्रथम क्याबिनेट मिटिङ्ग (बैठक) तथा पदस्थापना कार्यक्रम रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको लायन्स अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल वर्ष २०२४÷२५ को प्रथम क्याबिनेट मिटिङ्ग सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै  लायन्स क्लबका इन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले सामाजिक उद्यमशीलताको महाअभियानमा सबैले साथ दिनुपर्ने बताए । लायन्सवादमा आबद्ध भएका सबै सदस्यहरुको मिहिनेतको कारण अहिले विश्वमा लायन्स क्लब एउटा नमूना सामाजिक क्लबको रुपमा स्थापना भएको बताउँदै उनले यो सामाजिक क्षेत्रको महाअभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । लायन्सका सम्पूर्ण क्याबिनेट अफिसरलाई सपथ ग्रहण गराउँदै उनले क्लबको अभियानमा पूर्ण रुपमा साथ दिएर लाग्न आग्रह गरे । 

त्यस्तै पीआइडी जीएटी क्सीटुसनल एरिया लिडर इसामे इन्जिनियर संजय खेतानले सामाजिक सेवासहित अबको क्लबले उद्यमशीलतामा जोड दिनुपर्ने बताए । उनले सफलता प्राप्त गर्नको लागि दीर्घकालिन उद्देश्य स्पष्ट हुनुपर्ने भन्दै यसको लागि आजैको मितिबाट सुरुवात गर्नुपर्नेमा जोड दिए । सामाजिक सेवा गर्नेलाई सदैव सफलता प्राप्त हुने भन्दै उनले सामाजिक उत्तरदायित्वसहितको सेवामा लाग्न आग्रह गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लो समय सामाजिक विकृति समेत देखा परेको भन्दै सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । आफुभन्दा मान्यजनप्रति सद्भाव, सेवा, सत्कारमा लाग्न आग्रह गर्दै प्रजिअ अर्यालले सदैव सहयोगी भावनाले काम गर्नुपर्नेमा जोड दिए । 

लिडसीप ट्रेनर खुस्बु वलीले डिजिटल युगमा नौलो र फरक सुविधासहित हाम्रो भविष्यबारे र हामीले कसरी आफ्नो घरपरिवार, साथीभाई र वरिपरी तथा समाजमा कसरी सामाजिक उद्यमशीलतामार्फत समावेशिता बढाउन र हरेक सदस्यहरुसँग भएका क्षमता, विविध प्रतिभालाई, सानोसानो काम र स–सानो लघु उद्यममार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्नेबारे जोड दिइन् ।
लायन्स इन्टरनेशनल ३२५ पी, नेपाल डिष्ट्रिक गर्भनर  पुरुषोत्तम भक्त प्रधानाङ्गले हरेक सदस्यहरुलाई सामाजिक उद्यमशीलतामार्फत कसरी समाजमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ र आर्थिक विकास गर्न सकिन्छ भन्ने योजनासहित नयाँ थिम अगाडी सारिएको बताए । 

उनले लायन्स अन्तर्राष्ट्रिय जिल्ला परिषद् ३२५ पी मार्फत यो वर्ष केही अन्तरक्रिया र तालिम, केही सहयोगका काम लिएर विभिन्न दृष्टिकोणसहित संगठनात्मक बलमा रूपान्तरण गर्न, कार्यस्थल वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, एलसीआएफ एरिया लिडर राजन लम्साल, मल्टीपल  काउन्सील चेयरपर्सन रमेश कुमार लामाले आ –आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पाष्ट डिष्ट्रिक गभर्नर तथा मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताप राणा,  निवर्तमान डिष्ट्रिक गभर्नर अर्जुनमान सैजु, फष्ट भिडिजी बालाराम भट्टराई, सेकेण्ड भिडीजी सन्दीप कसौधन लगायतले भनाइ राखेका थिए । 

कार्यक्रममा डिष्ट्रिक ३२५ पी का १ हजार ४ सय बढी लायन्सहरुको सहभागिता रहेको एरिया–३ की एरिया चिफ एवं कार्यक्रम संयोजक शान्ति पाठक पाण्डेले जानकारी दिइन् । कार्यक्रममा पाण्डेले कार्यक्रम आयोजना गर्दा सहयोग गर्ने विभिन्न संघ–संस्था तथा क्याबिनेट अफिसरहरुलगायतलाई सम्मान समेत गरेकी थिइन् । 

निर्वतमान सचिव विनोद खरेलले नयाँ समितिका सचिव माधव खनाललाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै निर्वतमान कोषाध्यक्ष दिनेश श्रेष्ठले वर्तमान कोषाध्यक्ष प्रकाश श्रेष्ठलाई कोषाध्यक्षको प्रतिवेदनसहित पद हस्तानान्तरण गरेका थिए ।  नयाँ कोषाध्यक्ष श्रेष्ठले चालु वर्षको डिष्ट्रिकको आय–व्यय  प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट क्याबिनेट अफिसर, क्लब तथा क्लबका अध्यक्षहरुलाई अवार्ड प्रदान गरिएको थियो ।