
सोमवार , श्रावण २८, २०८१
भैरहवा, २८ साउन ।
रुपन्देहीको भैरहवास्थित चारतारे होटल बोधी रेडसनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लर्ड्स होटल्स एण्ड रिसोर्ट्सले लिएको छ । लर्ड्स होटल्स एण्ड रिर्सोट्सले होटल व्यवस्थापनको जिम्मेवारी सम्हालेसँगै यो होटल ‘रेडसन लर्ड्स प्लाजा’ नामबाट सञ्चालन भएको छ ।
लर्ड्स होटल्स एण्ड रिसोर्ट्सका पुष्पेन्द्र बसंलले भैरहवामा होटल व्यवस्थापनको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे । उनले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा होटलको पर्याप्त सम्भावना भएको क्षेत्र भएको बताए ।
लर्ड्स होटल्स एण्ड रिसोर्ट्सका अपरेशन्स एण्ड डेभलपमेन्टका उपाध्यक्ष विकास सुरीले भने, ‘हाम्रो विकास र विस्तारका अवसरहरुलाई अधिकतम बनाउनको लागि हामी यस सम्पत्तिको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थितिलाई सृदृढ गर्न पाउँदा खुसी छौं । ’उनले पाहुनाको आतिथ्यता आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।
लर्ड्स होटल्स एण्ड रिसोर्ट्सका सहायक उपाध्यक्ष शैलेज तेरीले यो साझेदारी आफूहरुका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताए ।
होटलका अध्यक्ष प्रमोद कुमार यादवले रुपन्देहीमा पर्यटन क्षेत्रको धेरै सम्भावना रहेको बताए । उनले गाडी चलाउन राम्रो चालक आवश्यक भए जस्तै होटलका लागि राम्रो व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए । पूर्व सांसद् समेत रहेका यादवले चेकजाँचको नाममा पर्यटकलाई अनावश्यक दुःख दिन नहुने बताए । उनले भने, ‘सीमा नाकामा एकपटक चेकजाँच गरिसकेपछि निर्वाध रुपमा पर्यटकको सवारीसाधन जान पाउनुपर्छ ।’
सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनीमा धेरै भारतीय पर्यटक ल्याउन सकिने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सञ्चालन हुनासाथ यहाँका होटल भरिभराउ हुने बताए ।
रेडसन लडर्स प्लाजामा एकैपटक २ सय बढी मानिस एकैपटक अट्न सक्छन् । होटलमा ९५ वटा कोठाहरु छन् । यहाँ बस्ने पाहुनाहरुले विभिन्न प्रकारका आकर्षक सुविधाहरुको आनन्द लिन सक्नेछन् । जसमा एक बहु–कुजिन रेष्टुरेण्ट, बार, स्वीमिङ्ग पुल, वाटर पार्क, क्यासिनो र स्पा छ ।
लर्ड्स होटल्स एण्ड रिसोर्ट्सको मुख्य कार्यालय भारतको गुजराजमा छ । कम्पनीले हाल भारत, नेपाल र अमेरिकामा गरी ६५ वटा ठूला लक्जरीयस (बिलासी) होटलको व्यवस्थापनसहित सञ्चालन गरिरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij