
सोमवार , श्रावण २८, २०८१
काठमाडौं, २८ साउन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी एकढिक्का भएर अघि बढ्ने भन्दै कुनै समस्या नरहेको बताएका हुन् ।
बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएपछि अन्य सदस्यहरुले पनि यस विषयमा धारणा राखिरहेका छन् । तर, नेतृत्व हस्तान्तरणबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्ड भने सबै मिलेर जाने र केही टेन्सन नरहेको जिकिर गरे ।
सोमबार बैठकमा दिनानाथ शर्मा, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा लगायतले धारणा राखेका थिए । धारणा राख्ने क्रममा बाहिर आएजस्तो बैठकमा कुनै समस्या नरहेको र स्तरीय छलफल भइरहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले आर्थिक विकास, आत्मनिर्भर, पार्टीभित्रको श्रममा अधिकांशको जोड रहेको उल्लेख गरे ।
सापकोटाले नेतृत्वका विषयमा पनि सदस्यहरुले प्रश्न गरिरहेको उल्लेख गर्दै वैज्ञानिक वस्तुवादी निष्कर्ष आउने बताए ।
स्थायी कमिटी बैठक मंगलबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij