सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको साधारणसभा तथा अधिवेशन नजिकिदै गर्दा संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी दौडमा छन् । यही फागुन २१ र २२ गते हुन लागेको ६२ औं साधारणसभा तथा अधिवेशनमा भैरहवाका युवा व्यवसायी प्रमोद रिजाल अहिले चुनावी प्रचारप्रसारमा निकै व्यस्त छन् । सूचना प्रविधिमा विशेष दख्खल भएका रिजालले संघका वाणिज्यतर्फको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । प्रस्तुत छ रिजालसंग गरिएको कुराकानीको सम्पादित अशं :
सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । तपाईको उम्मेदवारी के का लागि ?
म सिद्धार्थ उद्योग वाणिज्य संघमा वाणिज्यतर्फको कार्यसमिति सदस्यमा उम्मेदवारी दिएको छु । संघमा युवाहरुको प्रतिनिधित्व तथा संघमा सूचना प्रविधिको विकासका लागि मैले उम्मेदवारी दिएको हुँ । अहिले विश्व नै सूचना प्रविधिबाट अगाडि बढेको छ । सूचना प्रविधिलाई संघमा जोड्नका लागि मैले उम्मेदवारी दिएको छु ।
तपाई आईटीका साथै खाद्यान्नको पनि व्यापार गर्दै आउनुभएको छ ? खास समस्याहरु के के छन् ?
मैले अहिले आईटीका साथमा खाद्यान्नको पनि व्यापार गर्दै आएको छु । अहिले त आईटी तथा खाद्यान्न दुवैतर्फको व्यवसायमा समस्याहरु रहेका छन् । लामो समयसम्म कोभिडका कारण भएको लकडाउनले गर्दा उद्योग व्यवसाय निकै समस्यामा परे । बल्ल अहिले व्यवसाय अलिअलि उठ्न थालेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघमा म कार्यसमिति सदस्यमा निर्वाचित भए भने म आफ्नो क्षेत्रको मात्रै नभएर सबै क्षेत्रको व्यवसायीलाई समेटेर उहाँहरुको समस्याहरु सुन्ने र समस्याको समाधानको लागि आफ्ना कुराहरु बोर्डमा राख्नेछु ।
तपाईलाई उद्योग वाणिज्य संघको निर्वाचनमा किन मतदान गर्ने ?
मैले युवाहरुको प्रतिनिधित्व गर्दै संघमा उम्मेदवारी दिएको हुँ । म एक युवा व्यवसायी भएको हिसाबले पनि संघमा युवाहरुको भुमिकालाई थप प्रभावकारी बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ । । सिद्धार्थ उद्योग वाणिज्य संघमा युवाहरुको सहभागिता कम रहेको छ । म संघमा गए भने कतिपय युवा साथीहरुलाई समेट्न सक्छु । अब युवाहरुलाई समेटेर हामी अगाडि बढ्नुपर्छ । युवाहरुलाई हामीले हरेक संघ–संस्थाहरुमा स्थान दिनुपर्छ एउटा देशको नेतृत्वमा युवाको पनि भूमिका हुनुपर्छ । केही स्थान युवाहरुलाई दिन सके त्यो संघको पहलमा हुन्छ राम्रोसंग अगाडि बढ्छ भन्ने मेरो मान्यता छ । संघका युवाहरुको प्रतिनिधित्वका लागि मलाई भोट दिनुहुनेछ भन्ने बिश्वास लागेको छ ।
तपाई संघमा विजयी हनुभयो भने व्यवसायिक हकहितका लागि के काम गर्नुहुन्छ ?
म संघमा विजयी भए भने अनुभव आदान प्रदान गर्नेछु । म पनि उदाउँदै गरेको युवा व्यवसायी भएका कारणले संघमा निर्वाचित भएको खण्डमा म आफुले धेरै कुरा सिक्ने अवसर पाउनेछु भने त्यहाँ सिकेका कुरालाई आम युवा तथा अन्य उद्योगी तथा व्यवसायीलाई सिकाउने छु । साथै व्यवसायीहरुको समस्या समाधानका लागि मेरो पहल हुनेछ ।
संघलाई अझै सबल र सक्षम बनाउनका लागि तपाईको भूमिका के हुन्छ ?
संघलाई बलियो बनाउनका लागि हामी योजनाबद्ध रुपमा काम गर्नुपर्छ । सिद्धार्थ उद्योग वाणिज्य संघको टिक निकै मिलेको, सबल र सक्षम रहेको छ । हामी पनि संघमा आउन सकेको खण्डमा हाम्रा योजनाहरुलाई त्यहा कार्यान्वयन गराउन थप सहज हुन्छ । संघमा सबैको भुमिका निकै प्रभावकारी र महत्वपूर्ण हुन्छ । हामीले संस्थाको विकास संगसंगै आम उद्योगी व्यवसायीको विकासमा जोड दिनुपर्दछ । अहिले प्राय सबै क्षेत्र अप्ठ्यारो अवस्थामा रहेका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्रलाई पहिचान गरेर काम गर्नुपर्दछ ।
अन्त्यमा.........
म सिद्धार्थ उद्योग वाणिज्य संघमा पहिलो पटक उम्मेदवारी दिदैछु । युवाको प्रतिनिधित्व गरेर जाँदैछु । संघमा मेरो बुवा नारायण रिजालले जुन योगदान दिनुभएको छ माया दिनुभएको छ, त्यो संघलाई मैले माया दिन चाहन्छु । अगाडि बढाउन चाहन्छु, संघमा आफुले पनि धेरै कुरा सिक्ने अवसर मिल्छ । मैले आफ्नो उमेरको र आफु भन्दा कम उमेरको साथीभाईहरुलाई मैले सिकाउन सक्छु । केही साथीहरुलाई मैले संघमा सहभागिता गराउन सक्छु र यो संघबाट लिने फाइदाहरु के छन् त्यसको बारेमा अन्तरक्रिया कार्यक्रमहरु गर्नेछु । युवाहरुको सहभागिता गराउन सक्छु ।